काठमाडौं – सत्तारूढ दल नेकपाभित्र पार्टी विभाजन समेत हुनसक्ने गरी चर्किएको विवाद समाधान गर्ने सक्रियता देखाएकी रास्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसंग संयुक्त रुपमा भेट्ने तयारी गरेकी थिइन्।
प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालले छुट्टाछुट्टै भेट गरेपनि राष्ट्रपतिले दुई अध्यक्षलाई सँगै राखेर छलफल गराउन चाहेकी थिइन्। प्रचण्ड शितल निवास नगएपछि भण्डारीलाई प्रयोग गरेको ओलीको महत्वपूर्ण योजना चकनाचुर भयो। भण्डारीका अगाडि प्रचण्डलाई धम्क्याउने र थर्काउने तयारी गरेका ओली निराश बने।
सचिवालय र स्थायी कमिटीमा अल्पमतमा रहेको ओलीलाई प्रचण्डसँगै वरिष्ठ नेता माधवकुमार नेपालले पेलिरहेका छन्। यसपटक प्रचण्ड र नेपाल ब्याक हुने छाँटकाँट छैन। ‘प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई संगै राखेर सहमति गराउने रास्ट्रपतिको योजना हुन पनि सक्ने र ओलीले निर्देशनमा प्रचण्डलाई गलाउन भण्डारीले चाल चालेको पनि हुन सक्ने प्रचण्ड पक्षका नेताहरुले आँकलन गरेका छन्।
बिहीबारनै रास्ट्रपतिलाई भेटेर सबै समस्याको जड प्रधानमन्त्री ओली नै रहेको र उनले सहमति तथा बैठकका निर्णय समेत कार्यान्वयन नगर्दा पार्टी गम्भीर विवादमा फसेको जिकिर प्रचण्डले गरेका थिए। आज शनिबारको बैठकमा ओली नआउने सम्भावना रहेको बताइएको छ।
प्रचण्डविरुद्ध रणनीति बनाउन र सचिवालयमा एक्लिएपछि बैठक छल्न ओलीले अनेक बाहना बनाइरहेका छन्। ‘यो पटक ओलीजी नै सच्चिनु पर्ने’ अडान राष्ट्रपतिसँग राखेर आएका प्रचण्ड शुक्रवार पनि फेरि शितल निवास जान चाहेनन्। प्रचण्डसंग सहमति गरेरै विवाद समाधान गर्ने बालुवाटार र शितल निवासको योजना रहेको छ।
तर कार्यकारी अध्यक्ष प्रचण्ड एक्लै सहमति गर्ने पक्षमा छैनन्। उनले शुक्रवार बिहान समझदारीका लागि प्रस्ताव लिएर आफूलाई भेट्न पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पनि दुई अध्यक्षबीच मात्र सहमति गरेर यो पटक नहुने जवाफ दिएका थिए। यो पटक ओलीसँग सम्झौता नगर्न माधव नेपाल पक्षले पनि दबाब दिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।