काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै बलमा शासन चलाइरहेका छन् । तर ओलीलाई अहिले आफ्नै पार्टीले च्यापिरहेको छ ।
प्रधानमन्त्री ओलीले नेकपा सचिवालय बैठक नबोलाउने अनेक प्रयास गर्दागर्दै पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर ५ जना नेताहरूले लिखित रूपमै बैठक माग गरेर ओलीलाई बाध्य पारे । बैठकमा प्रचण्डले छुट्टै प्रस्ताव पेश गर्दै ओलीलाई गम्भीर आरोप लगाएर त्यसको जवाफ दिन झन् बाध्य पारे ।
यसरी प्रधानमन्त्री ओली बैठकमा लतारिएर आइरहेका छन् । तर सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा अल्पमतमा रहेका ओलीले आफू नेकपाबाट टाढा भाग्ने तयारी गरेको संकेत गरेका छन् । मंगलबारको बैठकमा ओलीले आरोप–प्रत्यारोप र लान्छना लगाउने गरी बैठक गर्नुको औचित्य नभएको भन्दै बैठक स्थगित गरेर अनौपचारिक छलफल गर्नुपर्ने राय राखे । तर प्रचण्ड पक्षले औपचारिक बैठकमै सबै छलफल हुनुपर्ने भन्दै भोलि बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाएको छ ।
ओलीले स्पष्ट रूपमै भनेका छन्, आरोप र लान्छना लगाएको प्रचण्डको प्रस्तावमाथि पार्टीमा छलफल हुन सक्दैन । तर प्रचण्ड पक्ष त्यसै प्रस्तावलाई अगाडि बढाउने तयारीमा छ । प्रचण्डले आफ्नै प्रस्तावलाई छलफल गर्दै पारित गराउने देखिएपछि ओली पार्टीबाट भाग्ने तयारीमा रहेका संकेत देखिएको नेकपा स्रोतले जनाएको छ । यसअघि समेत ओली पार्टी बैठकबाट भाग्दै आएका थिए ।
ओलीले प्रचण्डको प्रस्तावमा छलफल गर्न नहुने, प्रचण्डले माफी माग्नुपर्ने, बहुमतका आधारमा निर्णय हुन नहुने र अनौपचारिक छलफल गरेर सहमतिको खाका बनेपछि औपचारिक बैठक राख्नुपर्ने अडान लिएका छन् । तर ओलीका अडानलाई सम्बोधन गर्ने पक्षमा प्रचण्ड पक्ष छैन । उल्टै प्रचण्ड पक्षका सबै नेता ओलीप्रति आक्रामक देखिएका छन् । आफू पेलानमा पर्ने बैठकमा नजाने स्पष्ट सन्देश ओलीले दिइसकेका छन् ।
भोलि सचिवालय बैठकमै सहभागी नहुने ओली पर्सी बोलाइएको स्थायी कमिटी बैठक र मंसिर २५ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेमा पनि शंका गर्न थालिएको छ । यस्तो बेला प्रचण्ड पक्षले एकलौटी बैठक गरेर निर्णय लिन सक्छन् कि सक्दैनन् हेर्न बाँकी छ । तर ओली पार्टी बैठकबाट भाग्ने स्पष्ट संकेत देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।