काठमाडौं - तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार काण्डमा मुछिएदेखि पार्टीगत राजनीतिमा सक्रिय छैनन् । उनले अदालतबाट सफाइ पाएको महिनौं भइसक्दा समेत पार्टीको कुनै जिम्मेवारी पाएका छैनन् ।
तत्कालीन नेकपा माओवादीभित्र शीर्ष नेताभित्रै पर्ने महरा सभामुख भएपछि पार्टीबाट राजीनामा दिएका थिए । यति नै बेला माओवादी र एमाले मिलेर नेकपा पार्टी घोषणा भयो, महराले सभामुख भएका कारण पार्टीको कुनै जिम्मेवारी पाएनन् । उनी अहिले पनि कुनै औपचारिक पदमा छैनन् ।
नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद उत्कर्षमा रहेका बेला नेता महरा सक्रिय भएका छन् । महराले सोमबार नेकपा उपाध्यक्ष बामदेव गौतमलाई भेटेको स्रोतले जनाएको छ । भैंसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको घरमा गएर महराले केही समय राजनीतिक परामर्श गरेका जनाइएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ । बैठकअघि ओली र प्रचण्ड पक्षले आ–आफ्नै रणनीति बनाइरहेका बेला महरा समेत सक्रिय हुनुलाई नेकपाभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । उनले अदालतबाट सफाइ पाएपछि दाङ र रोल्पामा लामो समय बिताएका थिए ।
पछिल्लो समय पत्नीशोकमा परेका महरा राजनीतिक भेटघाटमा समेत सक्रिय हुन थालेका छन् । महरालाई पार्टीको जिम्मेवारी दिनुपर्ने माग समेत उठ्ने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।