काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसुकै सुशासनका गफ गर्ने गरे पनि उनकै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताले उनकै गृहजिल्ला झापामा सुकुम्बासीको भेषमा सरकारी जग्गामाथि गिद्धेदृष्टि लगाएका छन् ।
झापाको दमक नगरपालिका–१३ बालुवाटारमा रहेको रतुवा किनारको जग्गामाथि नेकपा दमकका नेता गगन भनिने रेवतराज पुरीले गिद्धेदृष्टि लगाएको स्थानीयको आरोप छ ।
नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा व्यक्तिको नाममा पारेको अभियोग पनि उनलाई लागेको छ । पुरीले नापीका कर्मचारीसँग मिलेमतो गरेर २४ विगाहा सरकारी जग्गा हत्याएको जनाइएको छ ।
स्थानीय निर्वाचनमा दमक नगरपालिकामा तत्कालीन नेकपा माओवादी केन्द्रबाट मेयर पदको उम्मेवार बनेका पुरीले रतुवा नदी छेउ १६ अर्ब लगानी गरेर पार्क बनाउने भन्दै प्रचार गरेका थिए । उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने व्यवसायी अजय सुमार्गीलाई दमक ल्याएर घुमाएपछि धेरैले पार्क बन्ने विश्वास गरेका थिए । तर पार्क बन्नु त कता हो कता, उल्टै सरकारी जग्गा कब्जा गरिएको स्थानीयको गुनासो छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को ३ महिना लामो अनुसन्धानले पुरीको पार्क बनाउने योजना झूटा रहेको खुलासा भएको छ । कब्जा गरिएको जग्गाको मूल्य बढाएर बिक्री गर्ने पुरीको दाउ रहेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।
ईलाका प्रहरी कार्यालय दमक हुँदै जिल्ला सरकारी वकिलको कार्यालय झापाले सरकारी छाप तथा दस्तखत कीर्ते र लिखत सम्बन्धी २ मुद्दा अदालतमा दर्ता गराएपछि भने पुरीले आत्मसमर्पण गरेका थिए । अदालतमा २०७६ चैत ७ गते अदालतमा हाजिर भएका उनलाई धरौटीमा छाड्न आदेश गरिएको थियो । मंसिर ९ गते पुरीलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेर अकुत सम्पत्ति आर्जनमा अनुसन्धान गरिरहेको छ । यसरी पुरीको षड्यन्त्र पर्दाफास भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।