काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पेस गरेको जवाफी प्रतिवेदन अध्ययन गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका नेताहरुसहित आफूनिकट स्थायी समिति सदस्यहरुसँग सामुहिक र एकल रुपमा छलफल गरेका छन्।
ओलीको जवाफी प्रतिवेदनबारे सचिवालय बैठकमै लामो व्याख्या गरेका प्रचण्डले आइतबार बिहानदेखि साँझसम्म वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए।
यस्तै आफूनिकट स्थायी समिति सदस्यहरु जनार्दन शर्मा, वर्षमान पुन, मात्रिका यादव लगायतसँग पनि प्रचण्डले गम्भीर छलफल गरे। कात्तिक २८ गते प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको जवाफ दिँदै ओलीले शनिबार बसेको सचिवालय बैठकमा ३८ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रतिवेदनमा व्यक्त गरिएका कतिपय विषय र सन्दर्भहरुको बारेमा बैठकमा कुरा उठाउने नेताहरुले तयारी गरेका छन्। ओलीको प्रश्नको जवाफ बैठक कक्षमै खोज्ने प्रचण्ड समूहको तयारी छ। प्रचण्डले ओली रुपान्तरण नभई केही नहुने स्पष्ट पारेको बताइएको छ। ओली नसच्चिए पार्टी महाधिवेशनसम्म जाने नत्र नयाँ माहोल बन्ने पनि बताइएको छ। अब छलफल मात्र नभई निष्कर्षमा जाने प्रचण्डको तयारी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।