काठमाडौं – सरकारले आज देशभर एकैपटक ३ सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दै छ। आज सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको पनि शिलान्यास गरिने सरकारले जनाएको छ। ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यसहित सातै प्रदेशमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न लागिएको हो।
आज शिलान्यास हुने अस्पताल दुई वर्षभित्रै सञ्चालनमा ल्याइने सरकारी अधिकारीहरुले जनाएका छन्। आज शिलान्यास हुने अस्पताल ५, १० र १५ शय्याका हुनेछन्। सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तनको संकेतको रुपमा व्याख्या गरेको छ। अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालका अनुसार आज शिलान्यास हुने अस्पताल दुई वर्षभित्रै सञ्चालनमा आउनेछन्। पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बनाइने लम्सालले बताए ।
अस्पताल भवन निर्माणका लागि यो वर्ष सरकारले ६ अर्ब १२ करोड २६ लाख निकासा गरेको छ। अस्पताल निर्माण र उपकरण जडान गर्दा ५८ अर्ब खर्च हुने अनुमान गरिएको छ। प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण गरिनेछ। त्यसैगरी, लुम्बिनी प्रदेशमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमती प्रदेशमा ५१ र कर्णालीमा ४२ वटा स्थानीय तहमा अस्पताल बनाइने छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।