काठमाडौं - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको राजनीतिक भविष्य धरापमा पर्ने अवस्था सिर्जना भएको छ ।
वर्तमान र पूर्वप्रधानमन्त्रीलाई खुइल्याउन अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउने बाबुरामले त्यसको प्रमाण अदालतमा पेस गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
यदि नेपाली कांग्रेसले उनीविरुद्ध अदालतमा मुद्दा हालेमा बाबुरामले भ्रष्टाचार भएको प्रमाण कसरी देखाउलान् भन्ने चासो उत्पन्न भएको छ ।
बुढीगण्डकी जलविद्युत परियोजनामा प्रधानमन्त्री केपी ओली, नेकपा द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नौ अर्ब कमिशन खाएर योजना अलपत्र पारेको आरोप लगाउँदै बाबुरामले त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका थिए ।
आफूमाथि लगाएको सार्वजनिक आरोपको प्रतिबाद गर्दै कांग्रेस सभापति देउवाले भट्टराईलाई प्रमाण सार्वजनिक गर्न चुनौती दिइसकेका छन्।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्मामार्फत देउवाले जारी गरेको विज्ञप्तिमा क्षणिक लाभका निम्ति कसैमाथि हलुका टिप्पणी गरेर आफ्नो राजनीतिक प्रतिष्ठा नबढ्ने बताएका थिए। कांग्रेसको प्रतिक्रियालगत्तै बाबुरामले टोन बदलेका छन् ।
उनले आफू नेतृत्वको सरकारका पालामा स्वदेशी लगानीमै बनाउने प्रक्रिया अघि बढाएकोमा पछिल्ला सरकारले कमिशनखोरहरुको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएकोले उक्त परियोजना अलपत्र परेको बताएका छन्।
साथै उनले उक्त विषयमा उच्चस्तरीय र निश्पक्ष छानविनको माग गर्दै त्यसलाई सहयोग गर्न प्रतिबद्ध भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा केही नभने पनि आगामी चुनावमा भने बाबुरामले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने गरी रणनीति बनाउन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिइसकेका छन् ।
प्रचण्डले भने आफ्नो मानहानि गरेको भन्दै मुद्दा हाल्ने मनस्थिति बनाएको खुमलटार स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।