काठमाडौं- देशभर बढ्दै गइरहेको कोरोना भाइरसको माहामारी नियन्त्रण बाहिर जाने डर देखिएको छ । यसबीच सरकारले सबैलाई कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सचेत गराएको छ ।
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नागरिकस्तरबाट सरकारले गरेका आग्रहको अवज्ञा भए पुनः लकडाउन हुनेतर्फ सतर्क गराएका हुन् ।
नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको भन्दै जनस्तरले सरकारको अपिलको अवज्ञा गरे कडा कदम चाल्नुपर्ने बताएको हो ।
अहिलेको अवस्थामा लक डाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए । चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाई छ । लकडाउन गर्ने÷नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उनले बताए ।
जेष्ठ नागरिकहरुको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सानो लापरवाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरे ।
काठमाडौंमा संक्रमणको दर बढिरहेको सन्दर्भमा उनले बाँकेको नरैनापुर, उदयपुर र वीरगञ्ज लगायतका क्षेत्रमा संक्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले खेलेको भूमिकालाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने बताए ।
उनले विगतमा हट स्पट भएका ठाउँमा जनप्रतिनिधिहरुले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यासहरु काठमाडौंमा लागू गर्न जरुरी रहेको बताए । यसबाहेक काठमाडौं भिडभाड एवं सामुहिक गतिविधिहरु नगर्नसमेत उनले आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।