काठमाडौं - सत्तारुढ दल नेकपाकै मेयर र स्थानीय नेता कार्यकर्ताले जग्गामा चलखेल गर्ने उद्देश्यले विद्यालय स्थानान्तरण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ मा रहेको श्री बाल राष्ट्रिय आधारभुत विद्यालय भूमाफियाको डिजाइनमा वडा नं ९ मा सारिएको भन्दै स्थानीयले अख्तियारमा उजुरी दर्ता गराएका हुन् । केही दिनअघि दर्ता भएको उजुरी नम्बर सि ८८७७ रहेको छ ।
अख्तियारमा दायर उजुरीमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, वडा नं ८ का वडा अध्यक्ष, वडा नं ९ का अध्यक्ष, नगरपालिका शिक्षा समितिका प्रमुख विद्यालय व्यवस्थापन र सन्चालक समिति, श्रीमद भागवत प्रचार प्रसार समितिद्दारा सन्चालित बाल आश्रमका अध्यक्ष रामप्रसाद उपाध्याय र वडा ८ मा बस्ने केशव केसी अनियमित कार्यमा संलग्न भएको भन्दै कारवाही माग गरिएको छ ।
के हो घटना ?
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ मा रहेको श्री बाल राष्ट्रिय आधारभुत विद्यालय करिब ५० वर्ष पुरानो विद्यालय हो । पञ्चायतको समयमा पंचायत साक्षी राखेर धर्मबहादुर केसीले करिब १२ आना जग्गा विद्यालयका लागि दान गरेका थिए ।
गोठाटारका स्थानीयले श्रमदान गरेर सोही जग्गामा विद्यालय बनाएका थिए । विद्यालय स्तरोन्नतीका लागि विद्यालय सार्ने कुरा हुँदै आएपनि स्थानीयहरुले इतिहास बोकेको विद्यालय सार्न नहुने सुझाव राख्दै आएका थिए ।
तर, स्थानीयले नै थाहै नपाई नगरपालिकाले विद्यालय सार्ने निर्णय गरेको अख्तियारमा दायर उजुरीमा उल्लेख छ । कागेश्वरी वडा नं ९ मा रहेको बाल आश्रमको भवनमा विद्यालय सार्ने नगरपालिकाले निर्णय गरेको छ । जुन भवन श्रीमद् भागवत लगाएर उठेको सहयोगले वडा नं ९ का स्थानीयले बनाएका थिए ।
पहिला दान दिएको जग्गाका कारण केसी परिवारको जग्गका लागि बाटो रोकिएपछि स्थानीयहरु बसेर सो जग्गासम्म जानका लागि बाटो समेत उपलब्ध गराइएको थियो । बाटोको समस्या समेत हल भइसकेपछि विद्यालय सार्नुपर्ने विषय सकिएको थियो ।
तर, एक दशक अगाडी नै साविकको गोठाटार गाविसले श्रीमद भागवत प्रचार प्रसार समितिलाई बाल आश्रम सञ्चालनका लागि दिएको जग्गामा विद्यालय सारिएपछि स्थानीयहरु आश्चर्यमा परेका छन् । त्यतिबेला वडा कार्यालयले कानुनविपरित कागज गरेरै सो सार्वजनिक जग्गा दिएको थियो ।
स्थानीयले नै सहयोग गरेर बाल आश्रमका लागि भवन बनाइदिएका थिए । सोही भवनमा यसरी विद्यालय सार्ने काममा ठुलो आर्थीक अनियमितता भएको भन्दै छानविन गर्न स्थानीयहरुले माग गरेका छन् ।
अख्तियारमा दायर उजुरीमा समेत केसी परिवारले बाल आश्रम सन्चालकलाई ६० लाख र विद्यालय व्यवस्थापन समितिलाई ४० लाख दिई विद्यालय सारेको भन्दै छानविनको माग गरिएको छ ।
विद्यालय सार्ने र स्तरोन्नती गर्ने कुरा ठिक भएपनि सो कार्यका लागि गलत स्वार्थ राखेर आर्थीक अनियमितता भएको र दानमा दिएको जग्गा फिर्ता लिएको कुरमा गम्भीर ध्यानाकर्षण भएको निवेदनमा उल्लेख छ ।
पहिला जग्गा दान गर्दा जग्गाको खासै मुल्य नभएको र अहिले मुल्य बढेकाले सो लोभबाट विद्यालय सार्ने काम भएको स्थानीयहरुको जिकिर छ ।
भुमाफियाहरुको डिजाइनमा मेयसमेत संलग्न भएको र विद्यालय सार्नका लागि अनुमति दिएको भन्दै सो कार्यमा ठुलो आर्थीक अनियमितता र भ्रष्टाचार भएको स्थानीयको आशंका छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।