काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई श्रीमान् दाबी गर्दै आएकी बालिका खड्काले नेकपाका अध्यक्षद्वयलाई निवेदन पठाएर माफी मागेकी छन् । उनले अरुको उक्साहटमा लागेर गलत आरोप लगाएको भन्दै माफी मागेकी हुन् ।
सोमबार दिउँसो १२ बजे पार्टी कार्यालय पुगेर खड्काले केन्द्रीय कार्यालयका सचिवहरुमार्फत दुई अध्यक्षलाई निवेदन पठाएकी हुन् । उनले आफूले आरोप लगाएजस्तो राईसँग कुनै सम्बन्ध नभएको बताएकी छन्।
यस्तो छ खड्को निवेदन
नेपाल कम्युनिस्ट पार्टी, अध्यक्षद्वय कमरेड, महासचिव कमरेड लगायत आदरणीय आम जनसमुदायमा म बालिका खड्काको तर्फबाट हार्दिक अभिवादन।
म नेपाल कम्युनिस्ट पार्टीमा २०६५ सालदेखि संगठित सदस्य भई इमान्दारीपूर्वक पार्टीले लाए अह्राएको काम गर्दै आएकी योद्धा हुँ।
पछिल्लो समयमा मैले अरुका दुरुत्साहनमा परी तत्कालीन सञ्चारमन्त्री तथा हाल प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईलाई मैले गलत आरोप र लान्छना लगाउन पुगें। मैले केही सार्वजानिक संचार माध्यमहरुमा लगातार दावी गरे जस्ता वहाँसंग कुनै पनि सम्बन्ध र सम्पर्क नरहेका कुरा स्पष्ट पार्न चाहन्छु।
लगातार पछिल्ला समयसम्म अरुकै दुरुत्साहनमा परी मैले अदालतमा मुद्दा दायर गर्न पुगेँ, तर मैले दायर गरेका व्यहोरा र त्यहाँ मैले दाबी गरेका अंश मुद्धा प्रमाणित गर्ने आधार मसंग केही नभएकाले मैले ठूला भुल र गल्ती गरेको महसुस गरी आफ्ना सबै कमीकमजारी स्वीकार गरी मुद्दा समेत फिर्ता गरिसकेकेका कुरा अवगत गराउँदछु।
यसरी पूर्व सञ्चारमन्त्री तथा मुख्यमन्त्री शेरधन राई विरुद्ध लाग्न मलाई दुरुत्साहन गर्नेहरुले आफ्ना राजनीतिक अभिष्ट पूरा गर्नेगरी मेरा भविष्यमाथि समेत खेलवाड गर्ने काम गरेका ठहर सहित म यसप्रकारका गलत प्रयाग र दुरुत्साहनबाट पछाडि हटेकी हुँ।
सम्मानित काठमाडौँ जिल्ला अदालतमा मैले दायर गरेका मुद्दा र मैले त्यस मुद्दामा दाबी गरेका कुरा पुष्टि हुने कुनै आधार र प्रमाण आफूसंग नरहेका हुंदा सोही व्यहोरा उल्लेख गरी यी सबै मेरा व्यवहार प्रति आत्मआलोचित हुँदै मुद्दा फिर्ता गर्न दिएको निवेदन उपर सम्मानित अदालतबाट सुनुवाइ भई सम्मानित अदालतले दिएका आदेश यसैसाथ संलग्न गरी मबाट हुन गएका गल्तीलाई हामो गौरवशाली पार्टी नेकपाको नेतृत्त्व तहबाट क्षमा गरी पूर्ववत जिम्मेवारीमा पुनर्स्थापित हुन पाउँ भनी निवेदन गरेकी छु।
अन्तमा अरुका दुरत्साहनमा पर्नाले मबाट कमरेड शेरधन राईप्रति भएका अन्याय र पीडा प्रति पुनः क्षमायाचना गर्दै नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट मलाई दिइराखेको पूर्ववत जिम्मेवारी पुनः प्राप्त हुने कुरामा म विश्वस्त छु। यसबीचमा मेरो कारणले फेरिपनि कमेरड शेरधन राई लगायत अन्य व्यक्ति, समूह, पार्टी वा अन्य निकायमा परेको भ्रम तथा नकारात्मक प्रभाव र असरप्रति सार्वजनिक रुपमै माफी माग्दै बिदा हुन चाहान्छु।
सधन्यवाद।
बोधार्थः
१. अध्यक्ष कमरेड, बागमती प्रदेश कमिटी।
२. अध्यक्ष कमरेड, दोलखा जिल्ला कमिटी।
३. संयोजक कमरेड, राष्ट्रिय युवा संघ, नेपाल।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।