काठमाडौं– सत्तारुढ दल नेकपाको २ महिना देखि स्थगित भएको स्थायी समिति बैठक आज बस्दैछ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको स्थायी कमिटी बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तावको रूपमा पेस हुनेछ ।
असार १८ देखि स्थगित बैठकमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हेरफेर गरेर बनाएको प्रस्ताव पेश हुनेछ।
सबै स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत् उपलब्ध गराइसकिएको प्रस्ताव पारित गरेपछि स्थायी कमिटी बैठक आजै टुङ्ग्याउने सम्भावना रहेको स्रोतले जानकारी दियो ।
असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि मोडिन पुगेको थियो । विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेपछि स्थगित रहँदै आएको थियो ।
साउन १३ गते बहुमत (३१जना) स्थायी कमिटी सदस्य बालुवाटारमै भेला भए पनि पार्टी अध्यक्ष प्रचण्डले त्यसलाई जारी बैठकको निरन्तरता नमान्ने बताएका थिए ।
असार १० गतेबाट सुरु भएको बैठकमा १२, १३ गते कार्यसूचीमाथि छलफल भएको थियो । १६ गतेको बैठक प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्तिमाथि केन्द्रित भएको थियो भने १८ गतेको बैठक प्रधानमन्त्री ओलीले संसद् अधिवेशन हठात् अन्त्य गरिदिएपछि अन्यौलमा टुङ्गिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।