काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी बिहीबारदेखि खलंगामा बस्ने भनिएको सत्याग्रह स्थगित गरेर विशेषज्ञ सेवा दिन गाउँ जाने तयारीमा थिए । उनको झोलामा औषधि सकिएकाले किन्नुपर्ने भयो ।
एकाबिहानै उनी औषधि किन्न अस्पतालको फार्मेसीतिर लागे । उनको योजना थियो– अस्पतालको फार्मेसीबाट औषधि किन्ने र सिँजा क्षेत्रका गाउँमा स्वास्थ्य सेवा दिन जाने । तर औषधि किन्न अस्पतालको गेटभित्र जान नदिइएपछि उनी रित्तो हात फर्किए । औषधिबिनाको रित्तो झोला लिएर गाउँ जान उनको मनले मानेन । उनी सदरमुकाम खलंगामै रोकिए ।
केसी केहीबेर गेटमै बसे । सबैजसो ओहोरदोहोर गरिरहेका थिए । उनीमात्र अस्पतालको गेटभित्र जान पाएका थिएनन् । गाउँ लैजाने औषधि बाहिरका मेडिकलमा नपाइने भएकाले अस्पतालको फार्मेसीमा किन्न गएको केसी बताउँछन् । उनले भने, ‘जब गेटमा पुगेको थिएँ तब अस्पतालको गार्डले रोक्नुस् भने । म रोकिएँ । अरूलाई जान–आउन दिएको देखेर मैले गार्डसँग जिज्ञासा राखें ।
मलाई किन जान नदिइएको रु’ ती गार्डको जवाफ उद्धृत गर्दै केसीले भने, ‘अस्पताल निर्देशक डा मंगल रावलको आदेश तपाईंलाई भित्र प्रवेश गर्न नदिनु भन्ने छ । त्यसैले तपाईंले गेटभित्र प्रवेश पाउनुहुन्न ।’ गार्डको जवाफ सुनेपछि केसी आफू बसेको होटलतिर फर्किए ।
अस्पतालभित्रको फार्मेसीमा लगभग सबै प्रकारका औषधि पाइन्छन् । यसअघि उनले डोल्पा, मुगु र पातारासी जाँदा अस्पतालभित्रको पसलबाट औषधि किनेर लगेका थिए । ‘पहिला किनेका औषधि सकिएछन् ।
रित्तो हात गाउँ किन जानु भनेर अस्पतालको फार्मेसीमा किन्न जान खोजेको थिएँ । त्यहाँ जान अंकुश लगाइयो,’ उनले भने, ‘मलाई जहाँजहाँबाट अवरोध भइरहेको छ । त्यो अवरोधले अझै ऊर्जा थपेको छ ।’ दुई÷चारजना स्थानीयले आफूलाई किन प्रवेश नदिइएको भने पनि गार्डले त्यो आवाज नसुनेको केसीले बताए ।
केसीले भने, ‘जब सत्याग्रह घोषणा गर्छु, स्थानीय प्रशासनले लकडाउन गर्छ, प्रहरी म बसेको होटलबाहिर गेटमा आएर बस्छन् । सत्याग्रह स्थगित गर्दा गेटका प्रहरी हराउँछन् । लकडाउन पनि लुुज हुन्छ । यो चिकित्सा शिक्षा सुधारको अभियान तुहाउने षड्यन्त्र हो । ‘हेरौं कति दिनसम्म षड्यन्त्र गरिरहन्छन् । जस्तोसुकै षड्यन्त्र भए पनि यो अभियान रोकिन्नँ । अभियान अझै धारिलो बनेर जानेछ ।’
डा केसीलाई औषधि किन्न रोक्नु निकै गलत भएको नागरिक समाजले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।