काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीबाट अस्पताल उद्घाटन गएका र आडभरोसा पाइराख्ने झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले अभियान्ता डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई धम्की दिँदै दादागिरी देखाएका छन् ।
संयोजक सुवेदीलाई फोन गरेर प्रसाईंले भौतिक आक्रमणको धम्की दिएको सोलिडारिटी फर डा. केसी एलायन्सका संयोजक डा. जीवन क्षेत्रीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।
‘तलाईं भेटें भनें, तेरो नि ! तीन इन्ची सर्ने गरी हान्दिन्छु’ भन्दै दुर्गा प्रसाईंले आक्रमण गर्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रसाईंले बुवाआमा र बहिनी समेतको नाम लिएर सुवेदीलाई डाँका लगायतका शब्द बोलेर गालीगलौज गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओलीको निर्देशनमा काठमाडौं विश्वविद्यालयले चोर बाटोबाट प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै डा. केसी अभियानले विरोध गरेको थियो । त्यसपछि प्रसाईंले सुवेदीलाई धम्की दिएका छन् ।
यस्तो छ प्रसाईंको दादागिरीबारे जारी प्रेस विज्ञप्ति –
झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजका सञ्चालक तथा प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र दूर्गा प्रसाईंले डा. गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई फोन गरेर भौतिक आक्रमणको धम्की दिएका छन् ।
उनले भनेका छन् – तँलाई भेटें भने तेरो नि तीन इन्ची सर्ने गरी हान्दिन्छु । साथै बाबुआमा र बहिनीको नाम लिँदै सुवेदीलाई डाँँका लगायतका अपशब्द बोलेका छन् ।
केही दिन अगाडि काठमाडौं विश्वविद्यालयले चोर बाटोबाट अवैध रुपमा उनको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास गरेको भन्दै डा. केसीको अभियानका तर्फबाट प्रेस विज्ञप्ति जारी भएको थियो । लगत्तै उनले सुवेदीलाई फोन गरेर धम्क्याएका हुन् ।
कुराकानीमा प्रसाइँले आफ्नो अस्पतालमा कोभिडका बिरामीलाई १ लाख रुपैयाँ धरौटी राखेर मात्रै उपचार गर्ने गरेको पनि स्वीकारेका छन् ।
बीएन्डसी मेडिकल कलेजलाई अनुकूल हुने गरी तत्कालीन नेकपा सरकारले २०७५ सालमा जबरजस्ती चिकित्सा शिक्षा ऐन जारी गरेको थियो । त्यसैका आधारमा आफूले सम्बन्धन पाउनुपर्ने दाबी प्रसाईंले गर्दै आएका छन् ।
तर २०७३ सालयता आशयपत्र नवीकरण नगरेकाले शिक्षण संस्थाका रूपमा उक्त कलेजको कानूनी हैसियत शून्य भएको र सम्बन्धन लिने हो भने चिकित्सा शिक्षा ऐन र नियमावली अनुसार प्रक्रिया पुर्याएर आउनुपर्ने अडान चिकित्सा शिक्षा आयोगले लिँदै आएको छ ।
तर प्रसाईंले प्रक्रिया पुर्याउनुको सट्टा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले सम्बन्धनका लागि घुस मागेको भनेर फर्जी आरोप लगाएका थिए ।
डा. गिरीले उनीविरुद्ध गाली बेइज्जती मुद्दा हालेपछि उनी आरोप पुष्टि गर्न नसकेर केही समय भूमिगत समेत भएका थिए । एउटा पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘बंगलादेशमा एमबीबीएस पढ्न गएका नेपाली चेलीलाई प्रोफेसरहरुले करणी गरेर राखेका छन् । बंगलादेश पढ्न गएका केटाहरु ५ वर्षमा एमबीबीएस पास गरेर आउँछन्, हाम्रा चेलीबेटीहरु किन ९ वर्षसम्म आउँदैनन् ?’
त्यसअगाडि प्रसाईंले नेकपा नेता योगेश भट्टराईसँग मिलेर डा. गोविन्द केसी सत्याग्रहका विरुद्ध १ जना अपराधीलाई काउन्टर अनसनकारीका रुपमा खडा गरेका थिए ।
उही अपराधीले पछि गएर सत्तारुढ नेता तथा दलीय भागवण्डामा नियुक्त भएका त्रिवि पदाधिकारीको स्वार्थ अनुसार अनियमितता हुन नदिने आईओएमका तत्कालीन डिनलाई कालोमोसो लगाएको थियो ।
आयोगका उपाध्यक्ष गिरीको घर अगाडि राखिएको बम सँगैका पर्चामा पनि प्रसाईं र भट्टराईद्वारा परिचालित उही अपराधीको नाम थियो ।
तत्कालीन एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मार्सी भात खुवाएर पार्टी एकता गराएको भनेर दावी गर्ने प्रसाईं नेकपाको विवाद र फुटको बेला ओलीको पक्षमा खुलेर लागे ।
प्रधानमन्त्री ओलीकै आडमा उनले चिकित्सा शिक्षा आयोगलाई लत्याएर केयुमार्फत सम्बन्धन लिने प्रयास गरेका थिए । त्यही सिलसिलामा उनले सुधार अभियान्ता तथा डा. केसी अभियानका मिडिया संयोजक सुवेदीलाई धम्क्याएका हुन् ।
स्मरण रहोस्, केही महिना अगाडि प्रसाईंको अस्पताल पुगेर प्रधानमन्त्री ओलीले उनको प्रशंसा गर्दै बीएन्डसीले सम्बन्धन पाउने ठोकुवा गरेका थिए ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष लगायतका पदाधिकारीहरुले यस्तो अवैध काम नगर्ने अडान लिएपछि आयोगका आलंकारिक अध्यक्ष रहने प्रधानमन्त्रीले ऐन मिच्दै कार्यकारीको भूमिकामा रहँदै यही जेठ ११ गते आयोगको पूर्ण बैठक बोलाएका छन् । त्यसबाट आयोगका पदाधिकारीलाई पेलेरै जबरजस्ती सम्बन्धन दिने सरकारको योजना छ ।
यसरी प्रधानमन्त्री ओलीद्वारा संरक्षित व्यक्तिले गुण्डागर्दीपूर्वक हाम्रो अभियानका अभियन्ता सुवेदीलाई धम्क्याउने कार्यको सोलिडारिटी फर डा. केसी अलायन्स कडा निन्दा गर्दछ ।
नागरिकहरूको ज्यूधनको सुरक्षाका लागि बनेको सरकारका प्रधानमन्त्रीले नै यस्ता गुण्डागर्दी र अवैध कार्यलाई संरक्षण र प्रोत्साहन गरेपछि नागरिकले सुरक्षाका लागि कसको मुख ताक्ने भन्ने प्रश्न अहिले खडा भएको छ ।
हाम्रो अभियानका अभियान्ता सुवेदीमाथि यसबीच कुनै भौतिक आक्रमण भएमा त्यसको जिम्मेवारी दुर्गा प्रसाईंको हुने जानकारी पनि गराउन चाहन्छौं । सुवेदी कोभिड संक्रमणका कारण आइसोलेनमा भएकाले अहिलेसम्म प्रहरीमा जाहेरी गरेका छैनन् तर छिट्टै प्रसाईंविरुद्ध किटानी जाहेरी दर्ता गर्नेछन् ।
साथै चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडान विपरीत अयोगको बैठक बोलाएर जबरजस्ती सम्बन्धन अघि बढाइयो भने त्यसको कडा प्रतिवाद गरी मेडिकल शिक्षालाई अपराधी र गुण्डाहरूको नियन्त्रणमा जानबाट रोक्न सम्मानित पदाधिकारीहरूलाई अपिल पनि गर्दर्छौं ।
साथै नेपालको प्रधानमन्त्री एकाध डन, माफिया र अपराधीको साँठगाँठबाट नभई आम नागरिकको मतबाट निर्वाचित हुने गरेकाले प्रधानमन्त्री र सरकारको वफादारी र जवाफदेहिता पनि आम नागरिकप्रति हुनुपर्ने कुराको सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउँछौं ।
डा. जीवन क्षेत्री,
संयोजक, सोलिडारिटी फर डा. केसी एलायन्स
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।