काठमाडौं - सरकार भन्छ, ६० वर्षमाथिका वृद्धवृद्धा र १२ वर्षमुनिका बालबालिका घरबाट बाहिर ननिस्किनु । कोरोना भाइरसले यो उमेरका मानिसलाई धेरै चाँडो संक्रमण गर्ने चिकित्सकहरू बताउँछन् ।
खासगरी ६० वर्षमाथि र १२ वर्षमुनिका बालबालिकामा इम्युनिटी पावर कम हुन्छ । त्यही भएर सरकारले यो नियम लागू गरेको हो । तेस्रो चरणको निषेधाज्ञा बुधबार रातिदेखि नै सुरु भइसकेको छ ।
यस आधारमा अब अत्यावश्यक कामबाहेक अरुलाई घरबाट बाहिर ननिस्कन भनिएको छ । तर नेकपामा वृद्ध नेताको बिहीबार दिउँसो बालुवाटारमा जमघट हुँदै छ ।
सचिवालय बैठक ३ बजे बस्ने प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनालाई मान्ने हो भने नेकपा सचिवालय बैठकका कुनै पनि नेता बाहिर निस्कन मिल्दैन ।
किनभने सबैको उमेर ६० वर्षभन्दा माथि छ । प्रधानमन्त्री ओली ६९ वर्ष, नेकपा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड ६६ वर्ष, वरिष्ठ नेता माधवकुमार नेपाल ६७ वर्ष, झलनाथ खनाल ७० वर्ष, उपाध्यक्ष वामदेव गौतम ७२ वर्ष, प्रवक्ता नारायणकाजी श्रेष्ठ ६४ वर्ष, महासचिव विष्णु पौडेल ६१ वर्ष, उपप्रधानमन्त्री ईश्वर पोखरेल ६४ वर्ष र गृहमन्त्री रामबहादुर थापा बादल ६२ वर्ष भइसकेका छन् ।
यसमध्ये तीनजना नेता सरकारमा रहेकाले उनीहरूलाई बाहिर निस्कन बन्देज छैन । तर, अन्य नेता सरकारमा छैनन् । आफ्नै पार्टीको सरकार भएकाले पनि उनीहरूलाई सरकारको नियमले छुँदैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।