काठमाडौं- नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९) को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ ।
महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को सङ्क्रमणको उच्च जोखिमका बीच कार्यस्थलमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
महामारीको सङ्क्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत महासङ्घले सबै सञ्चारकर्मीलाई अपिल समेत गरेको छ ।
सञ्चार प्रतिष्ठानले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा कार्यस्थलमा खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्रीको प्रयोगसंगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासङ्घले आग्रह गरेको छ ।
विश्वव्यापी रुपया फैलिएको कोभिड-१९ को सङ्क्रमण पछिल्ला दिनमा नेपालमा पनि तीव्र गतिमा फैलिँदै गइरहेको उल्लेख गर्दै उहाँले महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार सङ्कलन तथा सम्प्रेषण गरिरहेको बताए ।
सङ्क्रमणको दर वृद्धि भएसँगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीमा समेत कोरोना सङ्क्रमण देखिने क्रम बढेको महासङ्घले जनाएको छ ।
महासचिव विष्टका अनुसार हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी सङ्क्रमित भइसकेका छन् । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सन सङ्क्रमणको उच्च जोखिममा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।