काठमाडौं– मल नपाएपछि किसानहरुले कृषिमन्त्री घनश्याम भुसाललाई कारबाही गर्नुपर्ने माग गरेका छन्। रासायनिक मल नपाएपछि बुटबलका किसानले कृषिमन्त्रीलाई कारबाही गरिनुपर्ने माग राखेका हुन्। युरियासहित सबैखाले रासायनिक मल उपलब्ध गराउने जिम्मा पाएको कृषि सामग्री केन्द्रको प्रादेशिक डिपो भैरहवामा एक बोरा पनि युरिया मल छैन । धान रोपेको दुई महिना पुग्न लाग्दा पनि सरकारी निकायबाट मल नपाएपछि रुपन्देहीसहित तराईका किसानले खेतमा मल राख्न पाएका छैनन् । मल नपाउँदा अधिकांश किसान धान उत्पादन र आम्दानी घट्ने चिन्तामा छन् ।
कतिपय किसान भारतबाट लुकिछिपी ल्याइएको मल महंगोमा किनेर प्रयोग गर्न बाध्य छन् । विगतमा पनि कृषि सामग्री केन्द्रले मागअनुसार मल उपलब्ध गराउन नसक्दा किसानले भारतबाट विभिन्न माध्यमबाट आएको मल किनेर प्रयोग गर्ने गर्थे । तर यो वर्ष त कोरोना महामारीका कारण दुवै देशमा लकडाउन र निषेधाज्ञा जारी भएकाले भारतबाट विगतमा जसरी मल आउन पाएको छैन । छिटफुट रुपमा आएको मल पनि प्रहरीले गाउँ–गाउँ पुगेर नियन्त्रणमा लिई भन्सार चलान गर्ने गरेको छ । बुधबार मात्रै रुपन्देही प्रहरीले रोहिणी गाउँपालिकाबाट दुईजनाको घरबाट ७६ बोरा मल बरामद गरेर लग्यो । त्यस क्रममा स्थानीय र प्रहरीबीच केहीबेर तनाव पनि भयो ।
कानूनी हिसाबले भन्सार छलेर ल्याइएको मल बरामद गर्नु प्रहरीको कर्तव्य भएपनि किसानहरु यो मान्न तयार छैनन् । बरु किसानहरु प्रहरीले ‘घुस’ नपाएका कारण किसानले किनेर ल्याएको मल खोसेर अमानवीय काम गरेको आरोप लगाउँछन् । राष्ट्रिय कृषक महासंघका केन्द्रीय अध्यक्ष रहेका ओमसतियाका अगुवा किसान देव धवलले किसानलाई युरिया मल उपलब्ध गराउने जिम्मेवारी पाएका सरकारी निकायलाई मल दिन नसकेको र कालोबजारी गरेको आरोपमा कृषि मन्त्रीलगायत सम्बन्धित सबैलाई कारबाही गर्न माग गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।