सङ्खुवासभा- सदरमुकाम खाँदबारीस्थित आइसोलेशन तोडफोड भएको छ । बिहीबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेशनको सामग्री तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ ।
आइसोलेशन तोडफोड र चोरी हुँदा रु १५ लाखका स्वास्थ्य सामग्री क्षति भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले जानकारी दिए।
जिल्ला अस्पतालले क्याम्पसमा १० शय्याको आइसोलेशन सेण्टर निर्माण गरेको थियो । जिल्ला अस्पतालले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएको छ ।
अज्ञात समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पिपिइ थान, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडरलगायत सामग्री चोरी गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले करीब पाँच महिना अगाडि सहमतिमा नै क्याम्पसमा आइसोलेशन निर्माण गरेको थियो । गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टिन र आइसोलेशन हटाउने निर्णय गरेपछि क्याम्पस प्रशासनले नदिने भन्दै विरोध जनाएको हो ।
क्याम्पस प्रशासन र स्थानीयवासीले जोखिम बढ्ने भनी आइसोलेशन प्रयोग गर्न नदिने भनेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक गरिएको थियो । उक्त बैठकले तत्काललाई सोही क्याम्पसको आइसोलेशन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि क्याम्पस प्रशासनले असहमति जनाएको थियो ।
आइसोलेशन तोडफोड गर्ने अहिलेसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए ।
सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा क्वारेन्टिनमा रहेका धर्मदेवी–४ का ३४ वर्षीय तथा चैनपुर नगरपालिका–११ का २४ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । उनीहरुलाई बिहीबार क्याम्पसमा निर्माण भएको आइसोलेशनमा ल्याउने भएपछि स्थानीयवासीले विरोध जनाउँदै आएका थिए ।
अहिले तीन कोरोना सङ्क्रमितको हिमालय क्याम्पसमै उपचार भइरहेको अस्पतालका प्रशासन जनाएको छ । प्रहरीले चोरी र तोडफोडमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।