सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

उपत्यकामा आजदेखि निषेधाज्ञा, हिँडडुलमा समेत रोक 

उपत्यकामा आजदेखि निषेधाज्ञा, हिँडडुलमा समेत रोक 

  • मिडिया डबली
  • बिहिवार, भाद्र ४ २०७७

  • 4.7K
    SHARES

  • उपत्यकामा आजदेखि निषेधाज्ञा, हिँडडुलमा समेत रोक 
    फाइल तस्वीर

    काठमाडौं– उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो ।

    सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ ।

    कोभिड–१९ सङ्क्रमणको उच्च बृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उक्त आदेश जारी गरिएको काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी भएको हो ।

    जिल्ला प्रशासन कार्याल काठमाडौँका अनुसार औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् ।
     
    के गर्न हुने र के गर्न नहुने ? 

    अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निशेष गरिएको छ । जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनसमेत सञ्चालन गर्न पाइने छैन ।
     
    कोभिड­१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०ः३० सम्म  र बेलुका ३ बजेदेखि ५ः३० सम्म आवागमन गर्न पाउने छन् । त्यसबाहेकका अन्य सवारी सञ्चालन गर्न पाइने छैन ।

    सवारी साधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी फलफूल दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्यरुपमा सहभागि हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।

    कुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेलाहुन भिडभाड गर्न, सभा जुलुस गर्न समेत निषेध गरिएको छ । परम्परागत र दैनिक रुपमा भइ आएका र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक साँस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल शैलुन, व्यूटी पार्लर, स्पा, स्वीममिङ्पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन ।

    शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधि समेत सञ्चालन गर्न पाईदैन । फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यामबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्नेछ ।

    अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्युनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिसा, कन्फम हवाई टिकट हुनेहरु सिधै विमानस्लथ जाने सवारी साधनको हकमा भने सहजीकरण गरिने जनाइएको छ ।

    अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कडा कारवाही गरिनेछ । उक्त आदेशको उल्लघन भएमा आदेशको पालना गर्ने गराउने काममा अबरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुन अनुसार कारवाही गरिने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ४ २०७७११:०५:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend