काठमाडौं- नेकपामा विवादकायमै रहेका बेला प्रधानमन्त्री केपी ओलीले नयाँ कदम चालेका छन् । उनले एक सातामै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थालेका हुन् ।
प्रधानमन्त्री ओलीले हालका आधा दर्जन मन्त्रीलाई हटाउने गरी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा मन्त्रीहरूको हेरफेरको तयारी थालेको बताइएकाे छ ।
हेरेफेरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव, वनमन्त्री शक्तिबहादुर बस्नेत, स्वास्थ्यमन्त्री भानुभक्त ढकालकाे संकेत स्राेतकाे छ ।
प्रधानमन्त्री ओलीले पार्टीमा धेरै विवाद देखिएपछि दुई साताअघि नै प्रचण्डलाई आफूले भदौ १ गतेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने र त्यसबेला धेरै मन्त्रीको जागिर जाने जनाउ दिएका थिए ।
स्रोतका अनुसार प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादललाई हटाएर जनार्दन शर्मालाई गृहमन्त्री बनाउनुपर्ने अडान लिएका छन् । तर, प्रधानमन्त्रीले बादललाई उपप्रधानमन्त्रीमा बढुवा गर्ने तयारी थालेको बुझिएको छ । उपप्रधानमन्त्री पोखरेलको ठाउँमा बादललाई ल्याउने तयारी भएको छ ।
यस्तै, नयाँ मन्त्री बन्नेमा वामदेव गौतम, तुलसा थापा, सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेललगायतको चर्चा छ । अर्थमन्त्री डा.युवराज खतिवडा अबको २० दिनमा सांसद नबने उनको मन्त्री पदमा रहने वैधानिक हैसियत सकिनेछ । त्यसैले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको एक सदस्यमा गौतमलाई मनोनीत गरेर उनलाई मन्त्री बनाउने वा उनकी श्रीमती तुलसा थापा गौतमलाई मन्त्री बनाउने भन्नेमा छलफल चलिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।