कञ्चनपूर- क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ की २३ वर्षीया राधादेवी ओडका परिवारलाई नगरपालिकाले रु १० लाख सहयोग उपलव्ध गराउने भएको छ ।
मृतक परिवारसँगको सहमतिअनुसार नगरपालिकाले ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने भएको छ ।
नगरपालिकाले सहयोगसँंगै मृतक ओडका श्रीमान्लाई योग्यताका आधारमा कार्यालयमा जागीर दिने सहमति गरेको छ ।
यसैगरी ओड परिवारलाई थप राहतका लागि प्रदेश र सङ्घ सरकारसित पहल गर्ने तथा क्वारेन्टिन व्यवस्थापनको कमजोरी छानबिनका लागि समिति गठन गर्ने निर्णय गरिएको छ ।
नगरपालिकाका प्रमुख कर्णबहादुर हमालका स्वकीय सचिव गणेशसिंह ऐरीले ओडको मृत्यु भएपछि नगर प्रमुखले सार्वजनिक रुपमा गरेको प्रतिवद्धतानुसार सहयोग गरिएको बताए ।
आज बिहान नगर प्रमुख हमाल र सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीलगायतले मृतक ओडका घरमै पुगेर किरिया खर्चवापत रु २५ हजार परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए ।
मङ्गलबार कृष्णपुर– ६ स्थित महाकाली माविको क्वारेन्टिनमा करेन्ट लागेर ओडको मृत्यु भएको थियो ।स्थानीय बासिन्दा क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकारीले नगरपालिकाको कार्यालयसमेत तोडफोड गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।