काठमाडाैं- कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरु पुनः स्थगित भएको छ ।
नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका बाँकी खेलहरु पुनः स्थगित गरिएको एसियन फुटबल कन्फेडेरेसन ९एएफसी०द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु सबै स्थगित गरिएको एएफसीले जनाएको हो ।
अब उक्त खेलहरु सन् २०२१ मा हुने जनाएको छ । तर, कुन मितिमा हुने भन्ने निर्णय भएको छैन ।
विश्वकप र एसियन कप छनोटको खेलमा नेपालले अब तीन होम खेल खेल्न बाँकी छ ।
यसअघि नेपालले दशरथ रङ्गशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने तालिका तय गरेको थियो । समूह ‘बी’ मा रहेको नेपालको पाँच खेलबाट तीन अङ्क रहेको छ ।
चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा भने अष्ट्रेलिया रहेको छ ।
–––
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।