काठमाडौं- कोरोना भाइरसको संक्रमण र जोखिम बढ्दै गएका बेला केन्द्रिय सरकारले भने देशव्यापीरुपमा लकडाउन नगर्ने भएको छ ।
मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै मंगलबार सरकारका प्रवक्ता युवराज खतिवडाले फेरि लकडाउन नहुने स्पष्ट पारेका हुन् ।
खतिवडाका अनुसार अब २ सयभन्दा बढी संक्रमित रहेको स्थानीय तह एवं सरकारले आफैले लकडाउन गर्न सक्ने छ ।
त्यस्तै २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाका मानिसहरुलाई आवतजावत पनि गर्न नदिने सरकारको निर्णय रहेको उनले बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै प्रवक्ता खतिवडाले भने, ‘हामीले मुलुकव्यापी लकडाउन गरेका छैनौं। मन्त्रिपरिषदका निर्णयमा कहिँ पनि लकडाउन शब्द लेखिएको छैन,’
मन्त्री खतिवडाले भने, ‘कुनै जिल्ला कोरोनामुक्त भइसकेका छन् त्यसकारण केन्द्र सरकारले फेरि लकडाउन (बन्दाबन्दी) भन्न मिल्दैन। जरूरी पनि छैन। कोरोना बढेका ठाउँमा जोखिम हेरेर सिडिओ र स्थानीय तहलाई अधिकार दिइएको छ।'
‘दुई सयभन्दा कम कोरोना संक्रमित रहेका जिल्लाका मानिसलाई आवतजावत गर्न दिइएकै छ,’ उनले भने, ‘जहाँ कोरोना जोखिम देखिन्छ त्यहाँ कडाइ गर्ने क्षेत्रगत नीति अपनाइएको हो।’
सरकारले जोरविजारे लागु गरेको र अन्तरजिल्ला यातायात भने खुला नगरेको उनले बताएका छन् ।
त्यस्तै जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने सरकारी तथा गैरसकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाका कार्यालयमा ५० प्रतिशतमात्रै कर्मचारी कार्यालयमा आउन पाउँने र अरुले घरबाटै काम गर्नुपर्ने निर्णय सरकारले गरेको छ ।
साउन १५ देखि होटल र रेष्टुरा खोल्न दिए पनि मास्क नलगाउने र स्वास्थ्य सुरक्षाको ख्याल नगरी अनावश्यक भीडभाड गरेकोले होटल र रेष्टुरामा बस्न नदिने नियम लागू गर्नु परेको उनले बताए।
त्यस्तै भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने यसअघिको घोषणा भदौ १५ गतेसम्मका लागि स्थगित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।