सर्लाही- कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सिसिएमसी)को बैठकले भोलि सोमबारबाट सलार्ही जिल्लाभर लकडाउन कडा पार्ने निर्णय गरेको छ ।
आइतबार सदरमुकाम मलंगवामा बसेको बैठकले भोलि बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउनको कडाइका साथ पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको हो।
परीक्षण दायरा बढाइएसँगै मलंगवा, बरहथवा, ईश्वरपुर, लालबन्दीलगायत स्थानमा जनप्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र वित्तीय संस्थामा कार्यरत कर्मचारीमा संक्रमण पाइएकाले समुदायस्तरमै संक्रमण फैलिसकेको (सीसीएमसी) को बैठकले ठहर गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कोरोनाको संक्रमण समुदायस्तरमा थप हुन नदिन स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम जारी लकडाउनमा भोलि सोमबारबाट कडाइ गर्ने बताए।
भाेलिदेखि खाद्यान्न र तरकारी पसलका सन्दर्भमा प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खुला राखी भौतिक दूरी कायम गराई खरिद–बिक्री गर्ने, स्वास्थ्य, विद्युत्, दूरसंचार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपक्षीको दाना र कृषि कार्यबाहेक अन्य बैंक तथा वित्तीय संस्था र कार्यालयहरूबाट प्रदान गरिने सेवा पनि तत्कालका लागि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। सर्लाहीमा साउन २१ गतेदेखि लकडाउन जारी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।