सोलुखुम्बु- सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको छ ।
दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए ।
शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिँदै आएको थियो ।
दूधकुण्ड क्षेत्रमा रहेका फुछिरिङ शेर्पाले चोकर्म फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको हुनसक्ने बताए । सो पोखरी पूर्णरुपमा फुट्ने खतरा भने उच्च रहेको उनको भनाइ छ ।
पोखरीको अन्य वरिपरिको भाग चिराचिरा परिसकेको भन्दै नदी किनारका स्थानीयवासीले उच्च सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।
दूधकुण्ड क्षेत्रमा चाैंरी गोठमा रहेका लाक्पा लामाका अनुसार चोकर्म पोखरी फुटेर आएको पानी चोतारे पोखरीमा आउँदा खोलामा पानीको बहाव कम भएको बताए । चोतारे पोखरी नभएको भए जनधनको क्षति हुनसक्ने उनको भनाइ छ ।
उनले अझै पनि चोकर्म ताल फुटेर चोतारे पोखरीमा आउने सम्भावना बढी भएकाले आवश्यक सुरक्षा नीति अपनाउनुपर्ने बए।
सांसदको टोलीले स्थलगत अध्ययन गर्ने
सोलुखुम्बु प्रदेशसभा (ख) का सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मौसम खुलेको अवस्थामा आइतबार हेलिकोप्टरमार्फत स्थलगत अध्ययनमा जाने बताए ।
पोखरी फुटेको खबरले त्रास फैलिएको भन्दै वास्तविकता अध्ययन गरी थप तयारी गरिने उनको भनाइ छ । शुक्रबार पनि स्थलगत अध्ययन गर्ने योजना बनाए पनि मौसमका कारण असफल भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।