सप्तरी- सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न आजदेखि रोक लगाइएको छ ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै सो अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई अस्पताल बाहिरका क्लिनिक वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच गर्न रोक लगाइएको हो ।
हाल अस्पतालको आकस्मिक कक्षमा कार्यरत सात अहेव सङ्क्रमित भएर आइसोलेसनमा छन् भने शङ्कास्पद तीन चिकित्सकसहित २७ स्वास्थ्यकर्मी र कर्मचारी होम क्वारेन्टिनमा छन् ।
ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मीलाई आइसोलेसन र होम क्वारेन्टिनमा राख्नु परेपछि अस्पतालका स्वास्थ्यकर्मीलाई बाहिरका क्लिनिक, निजी अस्पताल वा अन्य कुनै पनि स्थानमा बिरामी जाँचलगायतका काममा रोक लगाउने निर्णय गर्दै सङ्कट व्यवस्थापन केन्द्रले अस्पताललाई निर्देशन पठाएको छ ।
स्वास्थ्यकर्मीको अभावका कारण शुक्रबार अस्पतालको आकस्मिक सेवा, सर्जरी र ओपिडी सेवा बन्द गर्नुका साथै अन्य सेवासमेत प्रभावित भएको थियो । आकस्मिक सेवालाई सञ्चालन राख्न र कोरोनाको सङ्क्रमण एक ठाउँबाट अर्को ठाउँमा नफैलियोस् भनेर विशेष सजगता अपनाउँदै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ ।
राजविराजस्थित छिन्नमस्ता अस्पताल ९निजी० को शल्यक्रिया कक्षमा कार्यरत शल्यक्रिया सहायकमा समेत शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सो अस्पतालसमेत बन्द गरिएको छ ।
छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सकसहित ७० स्वास्थ्यकर्मी, कर्मचारीलाई पनि होमक्वारेटिन गरिएको अस्पतालका प्रशासन प्रमुख राजेश झाले बताए ।
केही चिकित्सक र स्वास्थ्यकर्मी दुवै अस्पतालमा कार्यरत छन् । छिन्नमस्ता अस्पतालमा सङ्क्रमितको सम्पर्कमा आएका कारण होमक्वारेटिनमा बस्नुपरेका केही चिकित्सक र स्वास्थ्यकर्मी गजेन्द्रनारायण सिंह अस्पतालमा समेत कार्यरत रहेकाले थप स्वास्थ्यकर्मी अभाव भएको अस्पताल प्रशासनले जनाएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक सेवा नै प्रभावित हुने अवस्था आएपछि सङ्कट व्यवस्थापन केन्द्रले क्लिनिक र अन्य ठाउँका बिरामी जाँच गर्न रोक लगाउँदै सम्पूर्ण ध्यान अस्पताल र कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा लगाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।