नुवाकोट- नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आएका व्यक्तिले एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ।
शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएकी ३७ वर्षीया एक महिलालाई गत वर्ष ०७६ चैत महिनाको २ गतेका दिन आफ्नै घरमा सुतिरहेका अवस्थामा चाररपाँच जनाको समूहले पीडित महिलालाई पालैपालो जबर्जस्ती करणी गरी दराजभित्र रहेको नगद पैसा र मोबाइल फोन चोरी तथा डाँका गरी फरार रहेका प्रतिवादीलाई नुवाकोट प्रहरीले धमाधम पक्राउ गरिरहेको छ।
घटनापश्चात् फरार प्रतिवादीले हतारमा आफूले बोकेको मोबाइल फोन घटनास्थलमा छाडी फरार रहेको हुँदा सोही मोबाइलको कलडिटेल्स तथा कलवाइज टावर लोकेशन हेर्दा उक्त मोबाइल फोन प्रयोगकर्ता प्रतिवादी शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश तामाङ रहेको र सोही फोनबाट अरु प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिएका छन्।
प्रहरी निरीक्षक फुयाँलका अनुसार घटनामा संलग्न प्रतिवादी तामाङसहित दुप्चेश्वर गाउँपालिका–५ का ३५ वर्षीय सानोकान्छा तामाङलाई काठमाडौंको सीआइबीसमेतको संयुक्त टोलीले खोजी गरिरहेको थियो।
प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–५ का ३५ वर्षीय रमेश तामाङ र लिखुँ गाउँपालिका– २ का ३६ वर्षीय भुपेस घलेलाई आज जबर्जस्ती करणी तथा डाँकासम्बन्धी कसुर मुद्दाअन्तर्गत अनुसन्धानपश्चात् जिल्ला अदालतमा थप अनुसन्धानका लागि पठाइएको छ।
घटनामा संलग्न पाँच जना फरार प्रतिवादीमध्ये चार जनालाई नुवाकोट प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ। रासस
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।