काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को बढ्दो संकटका कारण आइसोलेसन वाड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आजको बैठकमा उनले स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध गर्न र कोरोना सङ्क्रमणको उपचारमा अत्यावश्यक पर्ने औषधि आयातमा तदारुकता देखाउन सरकारलाई सुझाव दिएका हुन् ।
बैठकमा सभापति देउवाले कोरोना रोकथाम र उपचारमा हालसम्म भएका प्रगति र कमजोरीको समीक्षा गरी स्वास्थ सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा कारवाही गर्न सरकारसँग मागसमेत गरेका छन् ।
काँग्रेसले आरडिटी परीक्षण स्थायीरुपले अन्त्य गर्न, सम्पूर्णरुपले पिसिआर परीक्षण गर्दै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त गर्न, मापदण्डअनुरुप क्वारेन्टिनको यथाशीघ्र व्यवस्थापन गर्न र विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्धार गरी क्वारेन्टिन र परीक्षणपश्चात् घर पु¥याउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
बैठकमा सभापति देउवाले नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमानाका सिल गर्न, सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आमसञ्चारका माध्यमको व्यापक उपयोग गर्न तथा परिस्थितिअनुरुप रणनीति बनाई चुस्त कार्यान्वयन गर्न सुझाव दिए ।
विभिन्न दल, सङ्घसंस्था र आम सञ्चारमाध्यमका सुझाव नियमितरुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात् गर्न, उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गर्नुपर्ने काँग्रेसको सुझाव छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।