विराटनगर- समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले नगरक्षेत्रमा दुई साता लकडाउन गरेको छ।
विराटनगर महानगरपालिका स्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबारको बैठकले नगरक्षेत्रमा थप संक्रमण फैलिन नदिन साउन १६ राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म लकडाउनको निर्णय गरेको हो।
कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि महानगरपालिका क्षेत्रमा १४ दिन लकडाउन गर्ने निर्णय भएको प्रमुख भीम पराजुलीले बताए।
उनका अनुसार लकडाउन अवधिमा नगर क्षेत्रमा खाद्यान्न, तरकारी, फलफूल, औषधि पसल, दूध, पानी, ग्यास, इन्धन, प्रेसलगायत अत्यावश्यक सेवा खुला रहने छन्।
यस्तै एम्बुलेन्स, दमकल, अक्सिजन, विराटनगर आइसिपी हुँदै आउने–जाने ट्रक तथा लरी पनि सञ्चालन हुने छन्। अस्पताल तथा नर्सिङ होममा पनि बहिरंगबाहेक सेवा खुला रहनेछ। तर, विराटनगरमा बढी भीड हुने पुरानो र नयाँ गुद्री बजारका खाद्यान्न, तरकारी तथा फलफूललगायत पसल भने पूर्ण रुपमा बन्द हुने महानगरपालिकाले जनाएको छ।
कोरोना संक्रमण समुदाय स्तरमा देखिएकाले थप फैलिन नदिन लकडाउन गर्नुपर्ने बाध्यात्मक अवस्था आएको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। उनका अनुसार विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय पुगिसकेको छ।
६० संक्रमितको ट्राभल हिस्ट्री नै नभएकाले संक्रमणको माध्यमसमेत खुल्न सकेको छैन। थप सतर्कता नअपनाए कुनै पनि बेला भयावह स्थिति आउन सक्ने कार्कीले बताए।
उनले लकडाउनसँगै कोरोना परीक्षण दायरा पनि बढाउने तयारी भइरहेको जानकारी दिए। यसले कोरोना संक्रमण थप फैलिन नदिन सहयोग पुग्ने उनको विश्वास छ। उनले भने, ‘लकडाउनसँगै परीक्षण दायरा पनि बढाइने भएकाले संक्रमण नियन्त्रण गर्न सजिलो हुनेछ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।