झापा- झापामा स्थानीय तहले सञ्चालनमा ल्याएको स्कुल बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सुचना जारी गर्दै भद्रपुर नगरपालिकाभित्र खुला भएका निजी एवं सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
प्रशासनले मन्त्रिपरिषद् बैठकको साउन ७ गते निर्णय अनुसार शैक्षिक गतिविधि सञ्चालन गर्न दिर्नेशन दिएको छ । साउन ७ गतेका निर्णयले भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्ने र अर्को सूचनाबाट तोकिएको मितिदेखि मात्र शैक्षिक संस्थाहरू विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र सञ्चालन गर्ने व्यवस्था गर्न भनेको छ ।
भद्रपुर नगरपालिकाको शिक्षा समितिले आचारसंहिता बनाएर अनौपचारिक रुपमा नगरभित्रका सामुदायिक तथा निजी विद्यालय सञ्चालनका लागि साउन ८ गतेदेखि अनुमति दिएको थियो। सोही बमोजिम नगर क्षेत्रका केही विद्यालयले कक्षा–९ र १० कक्षा सञ्चालन गर्दै आएका थिए। भद्रपुरमा विद्यालय सञ्चालनमा आएपछि नेपाल विद्यार्थी सङ्घ झापाले केही संस्थागत विद्यालयहरूको स्थलगत अनुगमन गरी तत्काल विद्यालय बन्द गराउन झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई भेटेर माग राखेका थिए।
यता नगर शिक्षा समितिले विद्यालय सञ्चालन गर्न कुनै निर्णय नगरेको भन्दै आफ्नो बचाउ गरेपछि प्याब्सन भद्रपुरको टोली पनि जिल्ला प्रशासन कार्यालय झापा पुगेको थियो। विद्यालय सञ्चालकहरूलाई कार्यकक्षमै भेटेका प्रजिअ राना मगरले अविलम्ब विद्यालय बन्द नगरे कानुनी कारबाही गर्ने बताएपछि आइतबारदेखि विद्यालय सञ्चालन नगर्ने निर्णय गरिएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।