तनहुँ- नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी निकट तनहुँका नेता तथा कार्यकर्ताले पार्टीले गरेको निर्णय फिर्ता नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले जोशीलाई कारबाही गरेपछि तनहुँमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जोशी निकट नेता तथा कार्यकर्ताले जोशीमाथिको कारबाही पूर्वाग्रही र अधिनायकवादी रहेको बताएका छन्।
बीपी विचार समाज गण्डकी प्रदेशका सचिव परशुराम गिरीले जोशीलाई गरिएको कारबाहीले भविष्यमा कांग्रेसलाई ठूलो क्षति पु¥याउने बताए।
‘तनहुँको कांग्रेस संगठन बनाएको व्यक्तिलाई पार्टीबाटै निकाल्नु पार्टीकै केही नेताको स्वार्थ र पूर्वाग्रही भावना हो’, गिरीले भने, ‘पार्टी संगठन ध्वस्त हुन्छ, यसको जिम्मा स्वयं पौडेलले लिनुपर्छ।’
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराए पनि वरिष्ठ नेता रामचन्द्र पौडेलको उजुरीका आधारमा जोशीको उम्मेदवारी खारेज भएको अवस्थामा तीन वर्षपछि आएर कारबाही गरिनु पूर्वाग्रही भावना रहेको उनको आरोप छ।
‘गल्ती गरेको भए त्यही बेला कारबाही हुनुपर्दथ्र्यो, उहाँ त चुनावमा उम्मेदवार नै बन्न पाउनुभएन’, गिरीले भने, ‘महाधिवेशनको मुखमा आएर महाधिवेशनमा भाग लिनबाट वञ्चित गराउने खेल खेलियो।’
बीपी विचार समाजका नेतृ चिनु पोखरेलले जोशीमाथिको गरिएको कारबाहीको घोर निन्दा गर्दै तत्काल उक्त निर्णय पार्टीले सच्याउनुपर्ने बताए। जोशीमाथिको कारबाही फिर्ता नभएका जोशी निकट सबै कार्यकर्ताले सामूहिक राजीनामा दिने पोखरेलले चेतावनी दिइन्।
‘कांग्रेसले अहिले सबै वडामा क्रियाशील सदस्यता नवीकरणका लागि पठाएको छ, जोशीमाथिको कारबाही फिर्ता नभए हामी क्रियाशील सदस्यता नवीकरण गर्दैनौँ, सामूहिक राजिनामा दिन्छौँ’, उनले भने। बीपी विचार समाजका अध्यक्ष डिल्लीराम अधिकारीले कांग्रेस बनाउने नेता नै पार्टीमा नरहेपछि कार्यकर्ता पनि त्यो पार्टीमा बस्नुको औचित्य नहुने बताए। रासस
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।