काठमाडौँ नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले स्वर्गीय बिपी कोइरालालाई कहिलै बिर्सन नहुने बताएका छन् ।
स्वर्गीय बिपी कोइरालाले प्रजातन्त्रको स्थापना, राष्ट्रियता र समाजवादका पक्षमा देखाएको मार्ग तथा देश र जनताका लागि दिएको योगदान वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उहाँको यो योगदान कदापि विर्सिन नहुने बताएका हुन्।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा ३८ औँ विपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा आयोजित बृक्षारोपण कार्यक्रममा मन्तव्य राख्दै सहमहामन्त्री डा महतले सो धारणा राखेका हुन् ।
उनले भने– नेपालमा लोकतन्त्रको जग बसाल्ने काम विपी कोइरालाले गर्नुभएको हो, नेपालमा लोकतान्त्रिक पद्दतिको शुरुआतका लागि बिपी कोइरालाले पु¥याएको योगदानलाई नेपालले कहिल्यै विर्सन सक्दैन ।
यो मुलुकमा राणाको जहानियाँ शासनको अन्त्य गरी प्रजातन्त्रको उदयका लागि बिपी कोइरालाले निर्वाह गरेको भूमिकालाई राष्ट्रले सदैव सम्झिरहनुपर्ने उनको भनाई थियो ।
उनले विपी कोइराला एक युगमा एकजनामात्र जन्मिने युगपुरुष भएको स्मरण पनि गरे ।
डा।महतले भने– विपीजस्ता महापुरुषहरुका विचार सधैँ अमर हुने भएकोले हामीले त्यसलाई अनुशरण गरी अघि बढ्नुपर्छ । नेपाली काँग्रेसका कार्यकर्ताहरुले आफू विपीजस्ता प्रजातन्त्रवादी नेताका अनुयायी भएर रहनका लागि उहाँका आदर्शहरुको पालना गर्नुपर्ने उनले सुझाए ।
विपी जहिले पनि सत्यको पक्षमा र राष्ट्रियता र प्रजातन्त्रको पक्षमा मात्र उभिएको स्मरण डा।महतले गरे । उनले भने– विपी कोइराला अहिलेको सरकारले जस्तो तथाकथित आफ्नामात्र एजेण्डा र सस्तो लोकप्रियतामा कहिल्यै विश्वास गर्नुभएन । देश र जनताको हितमा जे हुन्छ सधैँ त्यसको मात्र पक्षमा लाग्नुभयो ।
विपीको संगतमा आफू रहेका बेलाको स्मरण गर्दै उनले भने– विपीले देश र जनतालाई के ले हित गर्छ र कसरी राष्ट्रियता बलियो हुन्छ भन्ने कुरामा मात्र उहाँले ध्यान दिनुहुनथ्यो । जस्तो कि कहिलेकाहीँ उहाँका विचारप्रति काँग्रेसका कार्यकर्ताहरुले नै सवाल जवाफ गर्थे तर पनि उहाँले सबैका कुरा सुनेर, सबैलाई शान्त पार्नुहुन्थ्यो र सत्यको पक्षमा आफू एक्लो बृहस्पती भएर पनि रहन सक्ने अडान लिनुहुन्थ्यो ।
सहमहामन्त्री डा।महतले भने– त्यसैले त उहाँलाई त्यसबेला कस्ता कस्ता गाली दिनेहरुले पनि अहिले आएर एकजना राष्ट्रवादी नेताका रुपमा सम्मान गर्छन् ।
वर्तमान सरकार र नेकपाका क्रियाकलापसँग तुलना गर्दै डा।महतले भने– अहिलेको सरकार र नेपाली कम्युनिष्टहरु झुठो प्रचार गर्छन्, आफू अनुकुलका एजेण्डा सेट गर्छन् र सारा मिडियाको दुरुपयोग गरेर काँग्रेसका विरुद्धमा प्रचार गर्छन् ।
विपी कोइरालाको महान आदर्श र उहाँको राष्ट्रवादको सोँच र परिभाषाका अगाडि अहिलेको सरकारले अलाप्ने गरेको राष्ट्रवाद नक्कली हो– डा महतले भने ।
अहिले सरकारले समृद्धिको नारामात्र लगाएको तर त्यतिबेला विपी कोइरालाले देशलाई समृद्ध बनाउने कामै थालेको र नेपाल कसरी समृद्ध हुन्छ भन्ने खाका कोर्नुभएको यथार्थ सबै नेपाली नागरिकमा जगजाहेर नै रहेको उनले बताए ।
विपी कोइरालाको अभाव पूर्ती गर्नका लागि नेपाली काँग्रेसको सामुहिक बल आवश्यक छ उनले भने । विपीको विचारलाई अघि लाएर कुनै पनि व्यक्ति नभएर पार्टी र विचार ठूलो हो भन्ने आम धारणाका साथ अघि बढ्न सक्यौँ भने यसले विपीप्रति सच्चा सम्मान हुन्छ र नेपाली काँगेस पनि बलियो हुन्छ उनले भने ।
अहिलेको सरकारले कानुनी शासनको खिल्ली उडाएको, महामारीको समयमा पनि जनतालाई न्याय गर्न नसकेको, देश यस्तो संकटमा फसेका बेला सत्ताधारी दल भने आफ्नै पद र शक्तिका लागि झगडामा तल्लिन रहेको र अझै पनि सरकारले समृद्धिको सपना बाँड्न नछोडेको आरोप सहमहामन्त्री डा।महतले लगाए ।
उनले भने– ‘सरकारले केवल भोट बटुल्नका लागि जसरी निर्वाचनका बेलामा आस्वासनका पोकाहरु बाँडेको थियो, अहिले पनि उ सपनामै छ, उठेको छैन, अब यो सरकारले जनताको पक्षमा काम गर्न सक्दैन ।
नेपाली जनताको समस्या र आवश्कताको अगुवाई गर्ने पार्टी नेपाली कांग्रेस नै हो भन्दै डा। महतले यतिखेर देशको कुनाकाप्चाका नेपाली जनताले नेपाली कांग्रेसलाई सम्झिरहेकोले पार्टीलाई नयाँ शैली र उर्जाका साथ अघि बढाउन कम्युनिष्टको दुष्प्रचारका विरुद्धमा जाइलाग्न सबै कार्यकर्ताहरुलाई आग्रह गरे ।
उनले भने हामी जनताका साथ गाउँगाउँ जाउँ र अहिलेको कम्युनिष्ट सरकारले गर्ने गरेको प्रोपोगान्डालाई मात्र सुनेर दृष्टिकोण नबनाउन आग्रह गरौँ, जनतालाई कुरा बुझाउँ, हामीले पनि आफ्ना कुरा राखौँ र उनीहरुका झुठ प्रचारको सशक्त रुपमा विरोध गरौँ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।