काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्ने भएको हो।
महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा कोभिड–१९ ले देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्ने भएको हो। महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड–१९ ले समुदायमा कुन तहसम्म पुगेको भन्ने थाहा पाउन ‘सेरो सर्वेक्षण’ गर्न लागिएको जानकारी दिए।
यसअघि महाशाखाले काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण समुदायसम्म पुगेको छ वा छैन भनेर ५ हजार जनामा पिसिआर परीक्षण गरेको थियो।
‘सेरो सर्वेक्षण’ रगतबाट गरिने परीक्षण भएकाले संक्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमुना संकलन गर्नेछ। पिसिआर परीक्षणले तत्काल सक्रिय भाइरस मात्र पत्ता लाग्छ भने ‘सेरो सर्वेक्षण’ ले मानिसमा पहिले भएको संक्रमणको भाइरस पनि थाहा पाइने हुन्छ।
‘सेरो सर्वेक्षण’ ले कोभिड–१९ संक्रमण भई थाहै नपाई निको भएका बिरामी पनि पहिचान गर्नेछ। ‘तत्काल समुदायमा कोभिड– १९ को संक्रमण कस्तो छ भनेर पिसिआर परीक्षण गरिन्छ,’ डा। पाण्डेले भने, ‘महामारीका रूपमा फैलिएको कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर थाहा पाउन सेरो सर्वेक्षण गर्न लागिएको हो।’
‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ बाट थाहै नपाई निको भएका र लक्षण नदेखिएर पनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ। नेपालमा कोभिड–१९ का ९७ प्रतिशत संक्रमितमा लक्षण देखिएका छैनन्।
‘सेरो सर्वेक्षण’ का लागि महाशाखाले सातवटै प्रदेशका संक्रमण बढी देखिएका जिल्लामा गएर मानिसको रगतको नमुना संकलन गर्नेछ। महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले सेरो सर्वेक्षण सुरु गर्न अन्तिम तयारी भइरहेको जानकारी दिए।
‘कोभिड–१९ संक्रमणबाट कति मानिस आफैं सञ्चो भएका छन्। उनीहरूलाई संक्रमण भएरनभएको हामीलाई थाहा छैन,’ उनले भने, ‘त्यसैले त्यस्ता मानिसमा रहेको भाइरसको अवस्था सेरो सर्भेलेन्सबाट थाहा हुनेछ।’
कोरोना संक्रमण भएको १४ दिनपछि मानिसको शरीरले एन्टिबडी उत्पादन गर्छ। सेरो सर्भेलेन्सबाट कोभिड– १९ को संक्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टिबडी कति बनेछ भन्ने थाहा हुनेछ।
‘मानिसमा रोगसँग लड्ने क्षमता हुन्छ। मानिस कुनै भाइरसबाट संक्रमित भएपछि उसमा भएको रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाउने गर्छ,’ उनले भने, ‘त्यही एन्टिबडी कति बनेको छ भनेर हेर्न पनि सेरो सर्भे सुरु गर्न लागिएको हो।’ रासस
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।