काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले कम्युनिस्टहरूका कारण लोकतन्त्रमाथि गम्भीर संकट आइपरेको बताएका छन् ।
काठमाडौंको ठमेलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका युवा नेता राणाले कम्युनिस्ट सरकार लोकतन्त्रमाथि प्रहार गर्न सक्रिय रहेको बताए ।
‘लोकतन्त्रमा प्रहार भएको छ’, उनले भने, ‘हाम्रो विदेशी राष्ट्रहरूसँगको रिलेशन बिग्रने अवस्था आएको छ ।’ ‘अहिले हामी अर्थतन्त्र र कोभिड–१९ बाट कसरी अगाडि बढ्नेभन्दा पनि आन्तरिक पावर स्ट्रगल र भ्रष्टाचारमा यो सरकार लागेको छ’, उनले भने, ‘यसलाई रोक्नुपर्छ ।
कांग्रेसले मात्रै रोक्न सक्दैन । सबैको सहयोग र साथ चाहिन्छ ।’ पूर्वअर्थ राज्यमन्त्री राणाले कोभिड–१९ लागेपछि विशेष गरेर पर्यटन क्षेत्रलाई अत्यन्तै ठूलो समस्या परेको बताए । ‘आउने ६ देखि ९ महिनामा पर्यटन क्षेत्र सुध्रिएर जान्छ भन्ने लागेको छ’, राणाले भने, ‘हामी बिहान ठमेलमा आउँदा गाडीको जाम थिएन । यो परिस्थिति ठमेल पुगेको छ ।’
उनले बिगतमा चहल पहल हुने ठमेल सुनसान भएको देख्दा आफूलाई नरमाइलो लागेको बताए । ‘कोभिड–१९ बाट हाम्रो अर्थतन्त्रलाई बचाउनेभन्दा पनि सरकार दमनमा उत्रिएको छ’, उनले भने, ‘प्रेसलाई सरकारले दबाउन खोजेको छ ।
यो अत्यन्तै डेञ्जरस कुरा हो । लोकतन्त्रमा प्रहार भएको छ ।’ युवा नेता राणाले पर्यटनलाई कांग्रेसले सधैँ महत्व दिएको बताए । ‘व्यवसायीहरूको सुझाव र सल्लाहले कांग्रेस अगाडि बढ्नेछ’, उनले भने, ‘आउने दिनमा हाम्रो देशको भविष्य भनेको पर्यटन हो । कोभिड–१९ले गर्दा पर्यटनलाई समस्यामा परेको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।