काठमाडाैं- भक्तपुरको जगाती चोकमा काठमाडौँतर्फ जान मयूर यातायातको गाडी रोकियो । एउटै स्टेशनमा सात जना यात्रु चढ्न बसको ढोका अगाडि उभिए ।
टाउँकोमा हेड कभर, मुखमा माक्स, हातमा पञ्जा र सेतो व्यक्तिगत सुरक्षात्मक उपकरण ९पीपीई० लगाएका सहचालकले ढोकाबाटै थर्मल गनले यात्रुको तापक्रम नाप्न थाले । यात्रु अचम्म मानेर हेर्दै थिए ।
भित्र छिरेका एक यात्रु एक सिटमा बसे । सधैँ भीड र घुँइचोमा सास्ती खेप्दै ठेलमठेल गर्दै सार्वजनिक यातायातमा यात्रा गर्नुपर्ने यात्रुले यति सहजको यात्रा गर्ने दिन पनि आउँछ भन्ने यसअघि कल्पना पनि गरेका थिएनन् ।
बस चढेपछि भक्तपुर च्याम्हसिंहमा भाडामा बस्दै आउनु भएकी पवित्रा लामाले यस्तो सहज यात्रा पनि गर्न पाइन्छ भन्ने कहिल्यै नसोचेको बताइन् ।
सधैँ भीड र ठेलमठेलमा यात्रा गर्दै आउनुको पीडा झेल्दै आएका यात्रुलाई एउटा सिटमा एक जना मात्रै बसेर यात्रा गर्दा सहज र सुरक्षित भएको महसुस गरेको उनले बताइन् ।
सूर्यविनायक चोकमा साझा बस चढेका सूर्यविनायक गःपली निवासी राधेश्याम श्रेष्ठले सार्वजनिक यातायात चल्दा अप्ठ्यारोमा परेका यात्रुलाई राहत मिलेको बताए । उनले भने, “आफ्नो साधन नहुनेलाई निकै सास्ती थियो, अब साझा बस चढ्न पाइयो, धेरै सहज भएको छ । आफ्नो सुरक्षाका लागि माक्स लगाएको छु, सेनिटाइजर बोकेरै हिँडेको छु, कहीँ केही छोइए हातमा सेनिटाइजर लगाउँछु, सुरक्षाको उपाय अब आफैँले अपनाउने हो ।”
बस चढ्दै गरेकी गर्भवती कल्पना विष्टले साझा यातायात चल्दा निकै राहत मिलेको बताइन् । लकडाउनका कारण सार्वजनिक यातायात नचल्दा ट्याक्सीले मनोमानी भाडा असुल्ने गरेकोमा त्यसबाट मुक्त पाइएको उहाँको भनाइ थियो । उनले भनिन्, “असअघि गर्भ जचाउन पाटन अस्पताल जाँदा ट्याक्सीले सूर्यविनायकबाट रु तीन हजार लिन्थ्यो, अब बस चल्न थालेपछि ट्याक्सीलाई महङ्गो भाडा तिर्नु परेन, आज धेरै राहत पाएको महसुस गरेको छु ।”
सरकारले लकडाउन खुकुलो बनाएपछि निजी यातायात नहुनेले राहत महसुस गरेका छन् । काठमाडौँबाट रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै भक्तपुरको सूर्यविनायकसम्म साझा यातायात दुई र जगातीसम्म मयूर यातायातले दुईवटा बस सञ्चालन गर्न थालेपछि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले निकै राहत महसुस गरेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन पछि बन्द भएको पनि अन्य यातायात भने सञ्चालनमा आएका छैनन् । सरकारले मापदण्ड निर्धारण गरी तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लिएर सार्वजनिक यातायात सञ्चालन गर्न आह्वान गरे पनि निजी बस व्यवसायीहरुले विभिन्न माग राख्दै सार्वजनिक यातायात सञ्चालन गरेका छैनन् । रासस
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।