काठमाडौं–गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सम्बन्ध चिसिएको छ । प्रहरी संगठनलाई कमजोर बनाउने भूमिका गृह मन्त्रालयले खेलेको भन्दै प्रहरी अधिकारीहरु रुष्ट भएका छन् ।
महानिरीक्षकबाट आफ्नो बिदाइको क्रममा ठाकुरप्रसाद ज्ञवालीले सार्वजनिकरुपमै गृह मन्त्रालयको आलोचना गरेपछि यो विषय अहिले चर्चामा छ । गृहले अभिभावकत्वको भूमिका बिर्सिएको ज्ञवालीको आरोप छ । उनको भनाइ थियो, ‘हाम्रो अभिभावकत्व निर्वाह गर्नुपर्ने संस्थाले आफ्नो भूमिका बिर्सिदिनाले नेपाल प्रहरी संगठनलाई स्वार्थ समूहले कमजोर बनाउने निरन्तर प्रयास गरी रहेका हुन्छन् ।’
पछिल्लो समय गृह मन्त्रालयकै कारण प्रहरीमा हस्तक्षेप बढेको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीलाई बलियो बनाउने भन्दै गृह मन्त्रालय प्रहरीको सरुवा–बढुवामा केन्द्रित भएको छ । राजनीतिक शक्तिकेन्द्रको आडमा आर्थिक चलखेलका आधारमा सरुवा–बढुवा हुन थालेपछि प्रहरीमा राम्रा अधिकृतहरु पछिपरेका छन् भने, भ्रष्टहरुको शक्तिशाली बनेका छन् ।
गृहको हस्तक्षेपका कारण नै आजित भएर ज्ञवालीले अवकाशको बेला प्रहरी जीवनमा आफ्नो तीतो अनुभव खुलारुपमा पोखेको प्रहरी अधिकारीहरु बताउँछन् । भाषणका क्रममा उनले अवसरवादी र पदलोलुप प्रहरी अधिकृतहरुको पनि आलोचना गरे । स्रोतका अनुसार महानिरीक्षक ज्ञवाली र गृहसचिव महेश्वर न्यौपानको सम्बन्ध सुरुदेखि नै राम्रो हुन सकेन । डिआईजीको दरबन्दी कटौतीको बेला दुईबीच भनाभन नै भएको थियो ।
पछि बढुवा तथा सरुवामा गृह तथा अन्य शक्तिकेन्द्रबाट अत्याधिक दबाब झेल्नुपरेको ज्ञवालीले आफ्ना सहकर्मीसँग बताएका थिए । कतिसम्म भने प्रहरीको कतिपय ठेक्कामा समेत केही व्यापारीहरुले उच्चपदस्थबाट दबाब दिएको स्रोत बताउँछ । त्यहीकारण उनले प्रहरीमा केही समूहले रजगजको प्रयास गरिरहेकाले त्यसविरुद्ध एकजुट हुन आग्रह गरेका थिए । दृष्टि सप्ताहिकबाट
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।