तनहुँ- भानुजयन्तीका अवसरमा सोमबार अर्थात भोलि तनहुँको भानु नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले गत वर्षदेखि भानुजयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई यस वर्ष पनि निरन्तरता दिइएको नगरपालिकाका वरिष्ठ अधिकृत एवं सूचना अधिकारी सुनिल पाण्डेले बताउनुभयो । भानुजयन्तीका अवसरमा नगरपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, वडा कार्यालय बन्द रहनेछन् ।
भानुभक्तको सम्मानस्वरुप नगरपालिकाभित्र सार्वजनिक बिदा दिने प्रचलन शुरु गरिएको नगरपालिकाले जनाएको छ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिनुभएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।
नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात हुनुहुन्छ । मोतिराम भट्टले उहाँलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको थियो । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेख्नुभएको छ भने उहाँका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिनुभएको थियो ।रासस
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।