काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी .(नेकपा)को स्थायी कमिटी बैठक सात दिनलाई स्थगित भएको छ। अघिल्लो बिहीबार बसेको बैठक पटकपटक स्थगित हुँदै आज बिहान ११ बजेका लागि तोकिएको थियो।
तर, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दुवैपदबाट आफ्नो राजिनामा माग्दै प्रस्ताव पेश हुन सक्ने बुझेपछि बैठक सारेका हुन्। बैठक सात दिन स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विटरमार्फत जानकारी दिएका छन्। ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केकाको तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित’, श्रेष्ठले ट्विट गरेका छन्।
नेकपामा विवाद चर्किँदै जाँदा बैठक स्थगित गरेर संवाद गर्ने रणनीति अपनाइएको थियो। सोही अन्तर्गत नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिन लगातार एक्लाएक्लै संवाद गरिरहेका थिए। तर, गत बुधबारको बैठक तिक्ततापूर्ण बनेपछि बिहीबार भने बैठक बसेनन्।
नेकपाको पाँचौं स्थायी कमिटी बैठक असार १० गतेबाट सुरु भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।