आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मनसुन अझै भयानक बन्दै : आजदेखि भारी वर्षा , सरकार ‘हाई अलर्ट’मा

मनसुन अझै भयानक बन्दै : आजदेखि भारी वर्षा , सरकार ‘हाई अलर्ट’मा

  • मिडिया डबली
  • बिहिवार, आषाढ २५ २०७७

  • 5.8K
    SHARES

  • मनसुन अझै भयानक बन्दै :  आजदेखि भारी वर्षा , सरकार ‘हाई अलर्ट’मा
     
    काठमाडाैं - मुलुकभर आजदेखि चार दिन लगातार भारी वर्षाभई विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पुर्वानुमान गरिएसँगै सरकार उच्च सावधानीमा (हाई अलर्टमा) रहेको छ । राज्यको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा खटिने मातहतका निकाय तत्कालै परिचालन गर्नसक्ने गरी सरकारले उच्च तयारी गरेको छ ।
     
    आवश्यक राहत तथा खाद्य सामग्रीको मौज्दातको अध्यावधिकसमेत गरिएको छ भने उद्धारका कुनकुन सामग्री कहाँकहाँ छन् भनेर सबै यकिन गरिएको छ । गृहमन्त्रालयका अनुसार तत्कालै परिचालन हुने गरी संयन्त्र तयारी अवस्थामा राखिएको छ । 
     
    विपद् व्यवस्थापनकै सम्बन्धमा आज गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका ७७ वटै जिल्लाका सरोकारवाला निकायलाई आवश्यक तयारीमा रहन र विपद् जोखिम न्यूनीकरणको काममा खटिन आवश्यक निर्देशन दिइएको बताए ।
     

    कोभिड–१९ बाट उत्पन्न सङ्कटमा मुलुक रहेका बेला पुनः विपद्जन्य सङ्कट उत्पन्न भएकाले त्यसलाई सामना गर्न र जनधनको सुरक्षा गर्नु अहिले प्रमुख चुनौती खडा भएको उनको भनाइ थियो । मन्त्री थापाले मुलुकभरका सबै निकायलाई हाई अलर्टमा रहनसमेत निर्देशन दिए । उनले घटना घट्नासाथ तुरुन्तै परिचालन हुनेगरी तयारीमा रहनसमेत सम्बद्ध निकायलाई निर्देशन दिए ।

     

    “विपद्मा कमभन्दा कम क्षति होस्, जनताको जीउधनको क्षति रोक्न सकौँ, हामी सबै त्यसमा लाग्नु जरुरी छ”, उनले भने । उनले आगामी चार दिन अझै धेरै वर्षा हुने अनुमान गरिएकाले थप सचेत हुन नदी किनार आसपासका क्षेत्रका बासिन्दासँग अनुरोध गरे । 

    गृहसचिव महेश्वर न्यौपानेले विपद्बाट जोखिम कम गर्न उद्धार र राहत व्यवस्थापनमा आवश्यक तयारी गरिएको र मातहतका निकायलाई तयारीमा रहन भनिसकेको जानकारी दिए ।

    मौसमविद्का अनुसार आजदेखि चार दिन मुलुकका विभिन्न चार प्रदशेमा भारी वर्षा हुनेछ । प्रदेश नं १, २ बागमती प्रदेश र गण्डकी प्रदेशमा बढी जोखिम रहेको र अन्य प्रदेशमा पनि जोखिम रहेको जनाइएको छ । विशेष गरी तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यो चारदिन कष्ट सहेरै पनि नदी किनार क्षेत्रमा र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी अन्यत्र सुरक्षित ठाउँमा जान सर्वसाधारणलाई अपिल गरे ।

    विपद्को पुर्वानुमान गरिएको पहिलो दिन आज बिहान सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले ठूलो क्षति पु¥याएको छ । अन्य जिल्ल्लमा समेत बाढी, पहिरोका घटना भएका छन् । 

    पानीको बहाव बढ्दो छ । वरिष्ठ मौसमविद् सुमन रेग्मीका अनुसार मनसुन सक्रिय भएर ठाउँठाउमा अहिले मध्यम पानी परिरहेको छ । अझै बढी वर्षा गराउने न्यूनचापीय रेखा भारतको विहार र उत्तरप्रदेशमा रहेकाले त्यो नेपालतर्फ आइरहेको रेग्मीले बताउनुभयो । गएराति नेपालको पूर्व तराई क्षेत्रमा न्यूनचापीय रेखा प्रवेश गर्नेछ । त्यसैले रातिबाट थप वर्षा हुनेछ । यसरी आगामी तीन दिन भारी वर्षा हुने उनले बताए ।

    बाढी पूर्वानुमान महाशाखाका प्रमुख विक्रम श्रेष्ठले गएराति सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा १४३ दशमलव ४ मिलिमिटर पानी परेकाले बाढी र पहिरो आएको बताए । “कुनै ठाउँमा १०० मिलिमिटर पानी पर्नु भनेको पहिरोको उच्च जोखिम हुनु हो, त्यहाँ बढी पानी परेको थियो”, उनले भने “अन्य क्षेत्रमा रातिदेखि पानी पर्ने भएकाले पहिरोको थप जोखिम छ ।” 

    उनले यसअघि नै जमिन गलिसकेकाले थोरै पानी पर्दैमा पहिरो र बाढीको ठूलो जोखिम हुने बताए । यो बीचमा ३० हजारभन्दा बढी मानिसहरुमा सतर्कताका लागि मोबाइल सन्देश पठाइसकेको बताए ।
     
    खानी तथा भूगर्भविभागका वरिष्ठ भूगर्भविद् शिवकुमार बाँस्कोटाले नेपालमा भौगोलिक विविधता रहेकाले एक ठाउँको अध्ययनले अर्को ठाउँमा काम गर्ननसक्ने बताए । उनका अनुसार हिमालय रिजनमा नेपाल पर्ने भएकाले पहिरोको जोखिममा मुलुक रहेको बताउनुभयो । मुख्यगरी चुरे क्षेत्र र महाभारत क्षेत्रमा बढी पहिरो जाने बाँस्कोटाको भनाइ छ ।

    आजको आकस्मिक बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले अहिलेसम्म भएगरेका गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले यो पकट आएको ठूला घटना भेलपहिरो भएकाले यसरी विगतमा पहिरो खसेर बनेको भूभागमा कम्तिमा मनसुन सक्रिय भएको बेला नबसी अन्यत्रै सुरक्षित स्थानमा जान आग्रह गरे ।रासस

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ २५ २०७७०८:३९:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend