काठमाडौं - कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामा माग गरेर उथलपुथल भएका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छिन् ।
राजदूत यान्छीले बिहीबार बिहान ललितपुरको खुमलटारस्थिट निवासमा दाहाललाई भेट गरेकी हुन् । स्रोतका अनुसार दाहाल र यान्छीबीच नेकपाभित्रको विवाद समाधानका विषयमा छलफल भएको थियो ।
चिनियाँ राजदूत यान्छीले कुटनैतिक मर्यादा विपरितको गतिविधि गर्दै आएको भनेर आलोचना भइरहेका बेला नेकपाकै दोस्रो तहका अध्यक्ष दाहालसँग गोप्य भेटवार्ता गरेकी छिन् । राजदूत यान्छीले दाहाललाई प्रधानमन्त्री ओलीसँग मिलेर जानका लागि दवाव दिएको स्रोतको भनाइ छ ।
यसघि राजदूत यान्छीले नेकपाका वरिष्ठ नेता माधव नेपाललाई गत आइतबार भेटेकी थिइन् । नेकपाकै अर्का वरिष्ठ नेता झलनाथ खनाललाई मंगलबार भेट गरेकी थिइन् ।
नेकपामा विवाद बढ्दै जाँदा वैशाख १९ गते दाहालसहितका वरिष्ठ नेताद्वय खनाल र नेपाललाई पनि भेटेर दबाब दिएकी थिइन् ।
पछिल्लो समय दोस्रो तहका अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय नेपाल र खनाल तथा उपाध्यक्ष बामदेव गौतमले ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन दवाव दिँदै आएका छन् । ओलीले राजीनामा नदिने जवाफ दिँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।