काठमाडौं– सत्तारूढ नेकपाभित्रको विवाद उग्र बन्दै गइरहेका बेला पार्टीमा तीव्र ध्रुवीकरण भइरहेको छ । कतिपय मिलाउन व्यस्त छन् भने केही विभाजनको पर्खाइमा छन् । पार्टीमा जस्तै मन्त्री पनि तीन धारमा बाँडिएका छन् ।
मन्त्रिपरिषद् गठनका क्रममा आफूनिकटकालाई ओलीले जिम्मेवारी दिएकाले अधिकांश अहिले पनि उनकै साथमा छन् । केही भने प्रचण्ड–माधव समूहसँग नजिक छन् । अधिकांश मन्त्री केपी र प्रचण्डको पक्षमा खुले पनि ५ मन्त्री भने निकास निकाल्न बढी सक्रिय देखिएका छन् ।
स्रोतका अनुसार, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन र शक्ति बस्नेत जारी विवाद समाधान गरेर पार्टी एकता सुदृढ पार्नुपर्ने पक्षमा छन् । मिलाउने प्रयत्न विफल भई पार्टी चिरा परेको अवस्थामा भने यी मन्त्रीले पनि दुई मध्ये एक गुटको फेरो समात्ने अवस्था छ ।
यसबाहेक ईश्वर पोखरेल प्रधानमन्त्रीको पक्षमा खुलेका छन् । उनी प्रधानमन्त्रीविरुद्धको घेरा तोड्न अध्यक्ष केपी ओलीलाई नजिकबाट सघाइरहेका छन् । प्रदीपकुमार ज्ञवाली, हृदयेश त्रिपाठी, भानुभक्त ढकाल, रामेश्वर राय यादवको साथ पनि आफूलाई मिल्ने प्रधानमन्त्रीको हिसाब छ ।
पूर्वमाओवादी खेमाका भए पनि लेखराज भट्टले अहिलेसम्म ओलीको साथ छाडेका छैनन् । उनी प्रधानमन्त्रीओलीको साथमा खुलेर सा दिने पूर्वमाओवादी खेमाका एक मात्रै मन्त्री हुन् ।
यसअघि प्रधानमन्त्रीलाई पूर्वमाओवादी खेमाकै भए पनि गृहमन्त्री रामबहादुर थापाको समेत साथ थियो । केही अघिसम्म पनि उनले ओलीसँगको सम्बन्ध कायम गरेका थिए । तर अहिले बादलले भित्र चाहिं काँध फेरेको र बाहिर चाहिं दुबै नाउमा खुट्टा राखेको बालुवाटारको बुझाइरहेको छ ।
युवराज खतिवडा, पद्यकुमारी अर्याल, वसन्त नेम्वाङ, पार्वत गुरुङ, शिवमाया तुम्बाहाङफे ओली नजिकका खास मन्त्रीमा पर्छन् । राज्यमन्त्रीतर्फ रामवीर मानन्धर वामदेव गौतम नजिक मानिए पनि मोतीलाल दुगड र नवराज रावतले प्रधानमन्त्री केपीलाई साथ दिने हिसाब बालुवाटारबाट गरिएको छ ।
प्रचण्ड–माधव समूहमा भने थोरै मात्र मन्त्री लाग्ने अवस्था छ । रामबहादुर थापा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, शक्ति बस्नेत, जगतबहादुर विश्वकर्मा, बीना मगर प्रचण्ड–माधव समूहका मन्त्री हुन् ।
प्रधानमन्त्री ओलीले २०७७ असार २० गते साँझ मन्त्रीहरूलाई बालुवाटार बोलाएका थिए । प्रधानमन्त्रीले मन्त्रीलाई बोलाएर केही ठोस निर्णय लिन लागेको अनुमान प्रारम्भमा गरिएको थियो । तर ओलीले त्यस्तो निर्णय गरेनन् । बरु, उनले मन्त्रीहरूसँग आफू घेराबन्दीमा परेकाले सघाउन भनेका छन् ।
आफूलाई साथ नदिने मन्त्रीबारे भने उनले निर्मम बन्ने संकेत गरेका छन् । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीे साथ दिन नसक्ने मन्त्रीलाई कित्ता क्लियर गर्न भनेको बालुवाटार स्रोत बताउछ । साँघु साप्ताहिकबाट
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।