काठमाडौं– विवादमा फसेको सत्तारुढ नेकपा फुट्ने वा जुट्ने भन्ने विषय दुई दिन भित्र टुंगो लाग्ने भएको छ। नेताहरुले पार्टी कुन दिशामा जाने भन्ने दुई दिनभित्र स्पष्ट हुने बताएका छन्।
गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।
आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्लाएक्लै छलफलमा जुटेका थिए।
नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ गतेसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा लागेका हुन्। यही दुई दिनभित्र सहमति हुने वा नहुने टुंगो लाग्ने एक स्थायी समिति सदस्यले बताए।
स्थायी समिति सदस्य सुवास नेम्वाङले सोमबार बालुवाटारमा भएको डेढ घण्टा लामो छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको बताए।
उनले सहमति नभएसम्म बैठक निरन्तर बसिरहने बताए। अर्का नेता देवेन्द्र पौडेलले दुई अध्यक्षबीचको छलफलले पार्टीलाई विभाजनबाट रोकेको बताए।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरु पनि छलफलमा सक्रिय छन्।
असार १० गतेदेखि बसेको स्थायी समिति बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने माग गरिएको थियो। त्यसपछि ओली बैठकमा सहभागी भएका छैनन्।
असार १८ गतेको बैठकमा ओली उपस्थित नै भएनन्, बरु पार्टी विभाजन गर्न मिल्नेगरी अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य गराउने निर्णय गरेपछि प्रधानमन्त्री ओलीसँग नेताहरु झस्केका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।