आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनको निशानामा नेपाली चेली : विवाह गरेर लैजाने र देहव्यापारका लागि बिक्री गर्ने अझै रोकिएन

चीनको निशानामा नेपाली चेली : विवाह गरेर लैजाने र देहव्यापारका लागि बिक्री गर्ने अझै रोकिएन

  • मिडिया डबली
  • सोमवार, आषाढ २२ २०७७

  • 6.7K
    SHARES

  • चीनको निशानामा नेपाली चेली : विवाह गरेर लैजाने र देहव्यापारका लागि बिक्री गर्ने अझै रोकिएन

    काठमाडौँ- कामको खोजीमा काठमाडौं आएकी सुनिता तामाङको विवाहको विषयमा उनकी आमा निकै चिन्तित थिइन् ।

    लमजुङको एक गाउँ, खेती किसानीबाट आउने सानो आयस्रोतले सबै कुरा धान्‍न नसकिने भन्दै सुनिताकी आमा चिन्तित भइरहेका बेला भरत तामाङ आइपुगे । उनले चीनमा विवाह गरेमा सुविधाजनक जागिर, सुविधाहरु, रेड पासपोर्टलगायतका पाइने प्रलोभन देखाए ।

    उनी सुरुमा विश्वास गरेकी थिइनन् । तर, पछि सबै कुरा भन्दै गएपछि विश्वास गर्न बाध्य भइन् र छोरीको विवाह नचिनेको चिनियाँसँग गर्न राजी भइन् । चिनियाँ नागरिक नेपालमै थिए । भाषा नबुझे पनि विष्णुकै सहजीकरणमा दुबै जनाले भेट गरे ।

    विष्णुले नै विवाहको सबै चाँजोपाँजो मिलाइ दिए, विवाह भयो । विवाहपछि उनी गोन्जाउका लागि उडानसमेत तय भयो । नचिनेको विदेशी नागरिकसँग गोन्जाउ जान उनलाई डर लाग्‍यो । र, उनले मोबाइल अफ गरेर लमजुङ गइन् ।

    उनी बेचिनबाट जोगिएको एक अनलाइन खबरले छापेको थियो । यस्तै विभिन्‍न प्रलोभन देखाएर विवाह गरेर चीन लैजाने र त्यहाँ लगेर देशव्यापारमा संलग्‍न गराउने क्रम अझै रोकिएको छैन ।

    गत वर्ष भदौ तेस्रो साता नेपाली युवतीलाई बिहे गरी चीनमा तस्करी गर्ने संगठित गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गर्‍यो । चिनियाँ नागरिकसँग विवाह गर्न काठमाडौं जिल्ला अदालतले समेत स्वीकृति दिएको भेटिएको थियो ।

    नेपाली र चिनियाँ दलालले ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका युवतीलाई पैसा दिएर विवाह गरी चीनमा तस्करी गरेको प्रहरीले बताएका थिए । एक युवती विवाह गरेबापत काठमाडौंमा रहेका चिनियाँ दलालले ८० हजार, युवतीका अभिभावकले ५० देखि ६० हजार रुपैयाँसम्म लिएको तथ्य फेला परेको थियो ।

    प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपाली युवती चीनमा तस्करी गर्न खोजेको आरोपमा ६ नेपाली र चार चिनियाँलाई पक्राउ गरेको थियो । पक्राउ परेका नेपालीहरूमा सिन्धुपाल्चोक हेलम्बुकी रिना तामाङ भन्‍ने बिबिरानी तामाङ, नुवाकोट ककनीका रोज तामाङ, लमजुङ बेसीसहरकी अमृता तामाङ, सोही ठाउँका भरत तामाङ र उषा कुमारी घिमिरे हुन् । त्यस्तै चिनियाँ नागरिकहरूमा चीन हुवईका जिङ झियाङ डोङ, ज्याङ डोङ हुई, क्वान झ्याङ पेङ र क्विन लियाङ छन् ।

    प्रहरीले सूचनाकै आधारमा चीनतर्फ लैजाने क्रममा लमजुङ सीमपानीकी सोनी गुरुङ, कविता गुरुङ, धादिङ निलकण्ठकी ललिता गुरुङ, कास्की लेखनाथकी शर्मिला परियार, सुनसरी ईनरुवाकी र विन्दा चौधरीलाई उद्धार गरिएको थियो ।

    यसरी कोरियामासमेत बेचिन्छन् 'नेपाली दुलही' पूर्वी नेपालबाट जागिर खोज्न काठमाण्डू आएका बेला उनलाई साथीहरूले 'पेपर म्यारिज' अर्थात् देखावटी विवाह गरेर कोरिया गए टन्न कमाइ हुने बताए ।

    जागिर नपाइरहेका बेला उनलाई पनि साथीहरूको सल्लाह ठिकै लाग्यो । मध्यस्थकर्ताले आकर्षक जागिर र कमाइ हुने लोभ देखाएपछि र सँगै बस्नु नपर्ने आश्वासन दिएपछि उनी छ लाख रूपैयाँ तिर्न तयार भइन् ।

    आफूभन्दा १० वर्ष जेठो कोरियाली नागरिकसँग कागजी विवाह गरी त्यसकै आधारमा 'पारिवारिक भिसा' मा उनी कोरिया पुगिन् । तर त्यहाँ न उनले स्वतन्त्र रूपमा काम गर्न पाइन् न त कागजपत्रका लागि मात्र भनेर बनाइएका श्रीमान्‌बाट छुटकारा नै । दलालले उनलाई विवाह बहाना मात्र भएको र कोरिया पुगेपछि आफ्नै हिसाबले काम गर्न सकिने लोभ देखाएका थिए ।

    तर ती पुरुषले पटकपटक बलात्कार गर्ने र घरमै बन्दी बनाउने प्रयास गरेपछि कोरियास्थित नेपाली दूतावास र केही मानवाधिकारवादी संस्थाको पहलमा नेपाल फर्केको उनी बताउँछिन् । उनले भनिन्, "तिमीलाई मैले कानुनी रूपमै बिहे गरेर ल्याएकाले मसँग बस्नैपर्छ भन्दै (उनले) प्रहरी बोलाएर मलाई पक्राए। मैले सम्बन्धविच्छेद मागेँ र मानव अधिकारवादीलाई गुहारेँ ।"

    उनी त एउटी प्रतिनिधिपात्र मात्र हुन्। लुकीचोरी प्रत्येक वर्ष विवाहको बहानामा कोरिया जाने र त्यहाँ पुगेर समस्यामा पर्ने महिलाहरूको सङ्ख्या धेरै रहेको तिनको उद्धारमा संलग्न भएका व्यक्तिहरू बताउँछन् ।

    केही वर्षअघि काठमाडौंमा सञ्चालित 'म्यारिज ब्युरो' भनिने विवाह गराइदिने कम्पनीका सञ्चालकलाई यस्तै कार्यमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ समेत गरेको थियो। तर त्यसपछि पनि लुकीचोरी यस्तो काम भने भइरहेको बताइन्छ ।

    यसरी कोरिया जाने नेपाली महिलाले शारिरिक र मानसिक यातना पाउने गरेको कोरियामै बसोबास गर्दै आएकी र पीडितको उद्धारमा समेत संलग्न रहेकी लक्ष्मी गुरुङ बताउँछिन् । पहिले विवाह नै गर्ने भनेर बकाइदा विज्ञापन गरिएको थियो, त्यसरी लगिएको पनि भेटियो ।

    हामीले पठाउने मान्छेहरूलाई मुद्दा चलायौँ, त्यसपछि केही कम भएको छ । २०-२२ वर्षका नेपाली युवतीहरू ५० वर्ष माथिका कोरियाली पुरुषको रोजाइमा पर्ने गरेका छन् । कोरियाली पुरुषले नेपाली युवतीसँग विवाह गर्न दलाललाई ठूलो रकम तिर्ने गरेकाले नेपाली युवतीलाई सजिलै छुटकारा नदिने बताइन्छ । केही वर्षअघि एक नेपाली युवतीलाई कोरियाली श्रीमान् आफैले बेचेको फेला पारिएपछि नेपाल पठाइएको उनले बताइन् ।

    कतिपयलाई भने नेपाली महिलाहरूले नै चलाएका आश्रयगृहमा राखेर नेपाल फर्काइएको गुरुङले जानकारी दिइन् । नेपाल प्रहरीका अधिकारीहरूका अनुसार पनि केही वर्षयता मानव बेचबिखनको प्रकृति परिवर्तन भएको छ ।

    विवाहका बहानामा महिलालाई कोरिया र चीन पठाउने कार्यले पनि मानव बेचबिखनको रूप लिएको उनीहरू बताउँछन् । कागजपत्रमा कडाइ गरिएपनि अझै नेपालबाट विवाहको बहानामा चीन र कोरियामा महिलालाई पठाउने क्रम नरोकिएको स्वयम् सरकारी अधिकारीहरू नै स्वीकार्छन् ।

    कोरिया र चीनमा नेपालसहित भियतनाम, क्याम्बोडिया, फिलिपिन्सजस्ता देशहरूबाट समेत विवाहका बहानामा महिलालाई लगेर दासको जस्तो व्यवहार गर्ने गरिएको विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाका प्रतिवेदनहरूले समेत औँल्याउने गरेका छन्।

    विवाहको बहानामा यसरी महिलालाई विदेश पठाउने प्रवृत्तिलाई मानव बेचबिखनकै अर्को स्वरूपका रूपमा हेरिनुपर्ने सरकारी अधिकारी र अधिकारवादीहरूको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २२ २०७७०१:२७:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend