काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन्। ‘उहाँ (प्रधानमन्त्री)माथि थ्रेट देखेका छौं। उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक्षा योजना बनाई कार्यान्वयन गर्छौं,’ सुरक्षा निकायका एक उच्च अधिकारीले भने।
प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आफूलाई पदबाट हटाउन देशी–विदेशी शक्ति हावी भएको बताएका थिए। त्यसको खण्डन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले अरू शक्ति नभई आफूले राजीनामा मागेको जवाफ दिएको आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
सुरक्षा निकायले प्रधानमन्त्रीको सुरक्षा थ्रेट महसुस गरी योजना बनाइरहेका छन्। जसअनुसार प्रधानमन्त्रीलाई सकभर कुनै कार्यक्रममा नजान सुझाइएको छ। राष्ट्रपति कार्यालय जानुपर्ने अवस्थालाई ध्यान दिई सवारी रुट यकिन गरेर सुरक्षा योजना तय गरिएको छ।
गृहसचिव महेश्वर न्यौपानेले भने प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट हुनुपर्ने कुनै कारण नभएको दाबी गरे। प्रधानमन्त्रीको सुरक्षार्थ खटिने निकायहरू सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूबीच गत साता समन्वयात्मक बैठक बसेको थियो। प्रधानमन्त्रीलाई हुन सक्ने आन्तरिक एवं बाह्य सुरक्षा थ्रेटको सूक्ष्म विश्लेषण गरी त्यसअनुसार सुरक्षाकर्मी परिचालनको निर्णय भएको थियो।
उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको सुरक्षार्थ ९० जना सुरक्षाकर्मी परिचालित छन्।सम्भावित चुनौती विश्लेषण गरी सुरक्षाकर्मीलाई उच्च सतर्क रहन निर्देशन दिइएको छ। प्रधानमन्त्री निवासमा खटिने सुरक्षाकर्मीलाई २४ सै घण्टा सतर्क रहन भनिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।