काठमाडौं– मुलुकमा फेरी राजतन्त्र स्थापनाका लागि भारतको खेल भइरहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दाबी गरेका छन् । जनमोर्चाको हालै बसेको बैठकले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर मुलुकमा फेरि राजतन्त्र स्थापना गर्ने खेल भइरहेको निष्कर्ष निकालेको छ ।
गत शुक्रबार ललितपुरको झम्सिखेलस्थित तारे होटेल भिभान्तामा तराई मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका दोस्रो तहका नेता र पूर्वराजपरिवार निकट व्यक्तिबीच भेटघाट भएको छ । यो भेटघाटलाई उनीहरुले गोप्य राख्न खोज्दा खोज्दै पनि सञ्चार माध्यमबाट बाहिर आएपछि आश्चर्यचकित भएका छन् । गोप्य रुपमा पूर्वराजपरिवार निकटका व्यक्तिहरु र राजनीतिक दलका नेताहरुबीच भेटघाट भएका बेला जनमोर्चाले मुलुकमा राजतन्त्र फर्काउने खेलमा भएको दाबी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकारबाट हटाउन होटेलहरुमा बैठक भएको बताएका छन् । आइतबार मदन भण्डारी फाउन्डेसनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ, नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछस भनेको छ भने, यो नसोचे हुन्छ ।’
अहिले नेपाल–भारत सीमा विवाद बढेको छ । सीमा विवाद बढिरहेका बेला नेपालले नागरिकता सम्बन्धी प्रावधानमा हेरफेर गर्दै नेपाली पुरुषसँग विवाह गर्ने भारतसहित विदेशी महिलाले नागरिकता लिन सात वर्ष पर्खनु पर्ने नियम बनाउने तयारी गरेको छ । गणतान्त्रिक सरकार भारतविरोध हुन थालेको दिल्लीले बुझेको टिप्पणी भइरहेका बेला राष्ट्रिय जनमोर्चाले ओली सरकारलाई हटाएर नेपालमा राजसंस्था स्थापना गर्न लागिपरेको निष्कर्ष निकालेको हो ।
यही असार ११ बसेको पार्टीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै शनिबार जनमोर्चा अध्यक्ष केसीले आफ्नो प्रेस वक्तव्यमा उल्लेख गरेका छन्, ‘भारतले जल, जमिन, जनसंख्यामाथि अतिक्रमण गर्दै आएको छ । राजनीति, प्रशासन तथा स्वतन्त्र वैदेशिक सम्बन्ध माथि योजनाबद्ध प्रकारले हस्तक्षेप गर्दै आएको छ । भाजपाको सरकारले नेपालमा धर्म निरपेक्षताको अन्त्य गरी त्यसको आधारमा राजतन्त्रको पुनस्थापना गर्न प्रयत्न गर्दै आएको छ । त्यसको लागि नेकपाको ओली सरकार बाधा भएको छ र यो सरकारलाई हटाउन चाहेको छ ।’
ओली सरकारलाई कम्युनिष्ट सरकारको रुपमा नस्वीकारेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भनेका छन्, ‘हामीले शुरुदेखि नै बताउँदै आएका छौँ कि नेकपाको सरकार कम्युनिस्ट सरकार होइन । यो गणतन्त्र पनि बर्जुवा व्यवस्था हो । यिनबाट देश र जनताका सम्पूर्ण समस्याहरुको समाधान हुँदैन ।’
मुलुकबाट राजतन्त्र अन्त्य भएको एक दशक नाघिसकेको छ । राजतन्त्र अन्त्य भएपछि संविधान सभाबाट जारी भएको संविधानअनुसार राज्य पुनर्संरचना भइसकेको छ । तर, पनि पुनः राजसंस्थाको बहसले स्थान पाइरहने गरेको छ । मुलुक र शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाह र उनको परिवार मुलुकभित्रै बसिरहेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले मुलुकको बेथिति, अराजकता, असहिष्णुविरुद्ध आफ्नो विचार व्यक्त गर्दै आएका छन् । पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति र गतिविधिलाई लिएर प्रमुख दलका शीर्षनेताहरुले पनि आपत्ति जनाउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।