काठमाडौं– २०७७ जेठ २१ गते राति कैलाली जिल्ला कैलारी गाउँपालिका भुइयाँफाटास्थित नेपाल–भारत सीमाको फरवाड बेसका दुई जवानले खाना खान आएका प्रहरी नायब निरीक्षक (सई) र हबल्दारलाई निर्घात कुटे। मदिरा सेवन गरेका जवानले सई रामबहादुर तेर र हवल्दार दौलतसिंह धामीलाई निर्घात पिटेका थिए।
कुटपिटका क्रममा हवल्दार धामीलाई टाउकोमा बञ्चरो प्रहार गरिएको थियो। घाइते दुवै सेती प्रादेशिक अस्पतालमा उपचारपछि सशस्त्र प्रहरीको कैलालीस्थित ३४ नम्बर गणमा फर्के।
उक्त वेश ३४ नम्बर गणमातहत हो। तेर त्यो बेशका कमाण्डर नै थिए। सिनियर अफिसरमाथि कुटपिट गर्ने दुई जवानको नाम खुलाइएको छैन। ३४ नम्बर गणले ‘आन्तरिक विवाद’ भन्दै घटना बाहिर ल्याउन मानेन।
कुटपिटपछि ती जवानले गोली प्रहार गर्न अन्य जवानको हतियार नै खोस्न खोजेका थिए। ड्युटीमा रहेका अन्य जवानहरू जंगलतिर भागेपछि सम्भावित थप घटना टरेको थियो।
घटना गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरियो। थप मद्दतका लागि गएका सशस्त्र प्रहरीले कुटपिट गर्ने दुई जवानलाई पाता फर्काएर ३४ नम्बर गणमा लगे।
सशस्त्र प्रहरी बल स्रोतका अनुसार यसमा राशन हिनामिनाको विवाद थियो। रासन हिनामिना बढेपछि जवानले कमाण्डरलाई कुटपिट गर्ने अवस्था सिर्जना भएको थियो।
उनीहरूमाथि आन्तरिक कारबाही तथा छानबिन भइरहेको दाबी गरिएको छ। ३४ नम्बर गणका प्रहरी उपरीक्षक कमल तिम्सिनाले आन्तरिक विवादका क्रममा ‘सामान्य घटना’ भएको भन्दै घटनाबारे विस्तृतमा बताएनन्।
ज्यानै लिने प्रकृतिको यो घटनामा फौजदारी मुद्दा आकर्षित हुन्छ। कारबाही नै गर्ने हो भने उक्त गणले घटना अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्थ्यो। तर, त्यसो नगरी घटनालाई आन्तरिक रूपमै मिलाउन खोजिएको छ।
अनुसन्धान गर्न भन्दै सशस्त्र प्रहरीले ती दुवै जवानलाई मुख्यालय तानेको छ।
सशस्त्र प्रहरीमा कनिष्ठले माथिल्लो तहका कर्मचारीलाई कुटपिट गरेको घटना यो एउटा मात्र हैन। लकडाउनकै समयमा यस्ता अन्य तीनवटा घटना भएका छन्।
वैशाख ६ गते बोर्डर आउट पोस्ट कबहिगोठ बाराका प्रहरी निरीक्षक युकेश उप्रेतीलाई जवान प्रकाश श्रेष्ठले हातपात गरे। उप्रेतीले ‘ब्रिफिङ’ गरिरहेको समयमा जवान श्रेष्ठले इन्स्पेक्टर उप्रेतीलाई हातपात गरेका थिए।
उक्त घटना छानबिन गर्न समिति बन्यो। ती जवानलाई विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ।
वैशाख ८ गते भैरहवास्थित सुनौली भन्सारमा रहेको ३८ नम्बर गुल्मका सशस्त्र प्रहरी निरीक्षकद्वय केशवराज भट्टराई र दयाराम पौडेल मादक पदार्थ सेवन गरी राति साढे १० बजे गुल्ममा पुगे। हो-हल्ला र मनपरी गर्न थाले।
गुल्मपति प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले सम्झाइबुझाइ गर्दा उनीमाथि नै मुक्का र किक प्रहार गरे।
यो घटनाको उजुरी मुख्यालयको मानव स्रोत विभागमा पुग्यो। विभागले वैशाख १७ गते पत्राचार गरी प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलको अध्यक्षतामा छानबिन समिति गठन गर्यो।
समितिले कुटपिटमा संलग्न दुबै प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने राय पेस गर्यो।
कुटपिटमा संलग्नमध्ये प्रहरी निरीक्षक भट्टराईलाई आवश्यक कारबाही गर्न मुख्यालयले गृह मन्त्रालयमा पत्राचार गरेको छ। पौडेल र शाहीलाई ५ नम्बर बाहिनीमा पठाइएको छ।
यस्तै, वैशाख २२ र २३ गते अर्को घटना अनाश्रित गुल्म पूर्वी रुकुममा घट्यो। राति करिब ११ बजे गुल्मका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकले मादक पदार्थ सेवन गरी आपसमा हातपात गरे।
कमाण्डर र टुआइसीबीच कुटपिट हुन थालेपछि कार्यालयका अन्य कर्मचारीहरूले समेत दुवैको पक्ष-विपक्षमा हल्ला गरेका थिए। उनीहरूलाई तत्कालै उक्त गुल्मको जिम्मेवारीबाट हटाइएको थियो।
२०७६ फागुन १९ गते युएन शान्ति स्थापना तालिम शिक्षालयमा कार्यरत् प्रहरी हवल्दार लोकबहादुर थापाले मादक पदार्थ सेवन गरी वरिष्ठ हवल्दार भोजबहादुर बोहरालाई कुटपिट गरेका थिए। थापाले आग्लोले प्रहार गर्दा बोहराको निधारमा चोट लागेको थियो।
उक्त कसूरमा सशस्त्र प्रहरी विशेष अदालतमा थापाविरूद्ध आवश्यक कारबाही गर्न निवेदन पर्यो। निवेदन परेपछि थापालाई प्रधान कार्यालयमा बोलाएर छानबिन गरियो। तीन वर्ष बढुवा रोक्काको कारबाही गरिएकोमा उनले राजीनामा दिएका छन्।
‘चेन अफ कमाण्ड’मा चल्ने फौजी संगठनमा जवानले कमाण्डरलाई नै कुटपिट गर्ने अवस्था आउनुलाई सामान्य मानिँदैन। सशस्त्र प्रहरीमा यस्ता घटना हिजोआज नौला हुन छोडेका छन्।
कैयन् घटना सशस्त्र प्रहरी कार्यालयमा रासनको विषयले निम्त्याउने गरेको छ। संगठनमा अनुशासनहीनता र नेतृत्व कमजोर हुँदै जाँदा यस्ता घटना हुने गरेको अधिकारीहरू बताउँछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।