काठमाडौं– नेपाल प्रहरीले असार गते गरेको ३६ एसपी सरुवामा आकर्षक जिल्लामा इन्चार्ज हुनका लागि शक्तिकेन्द्र दौडधूप गर्ने ६ जनाभन्दा बढी हिस्स परेको खबर छ । त्यस्ता शक्तिकेन्द्र चाहर्नेहरूको पहिलो रोजाई मोरङ, दोस्रो कास्की र तेस्रो बाँके जिल्ला थियो । कपिलवस्तु, तनहुँ, सिरहालगायतका जिल्ला त्यसपछिको प्राथमिकताक्रममा थिए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुबा साइनो लाउँदै एसपी दानबहादुर मल्ल कास्कीमा सरुवा हुने प्रयासमा थिए । उनी २०७६ पुसमा मात्रै चितवनबाट सरुवा भएका हुन् । त्यसमा पनि धेरै नै विवादमा परेपछि उनको सरुवा भएको थियो ।
सरुवा गरेको एक सातासम्म रमाना नै नलिई उनले राजनीतिक आडमा चेनअफ कमाण्ड नै अवज्ञा गरेका थिए । तर, तात्कालीन आईजीपी सर्वेन्द्र खनालले एसपी मल्लको चुरीफुरीमा ब्रेक लगाई दिएपछि उनी बल्ल रमाना लिएर चितवनबाट हिंड्न बाध्य भएका थिए । अहिले ५ महिनामै उनले पुनः कास्कीमा सरुवा हुनका लागि शक्तिकेन्द्र प्रयोग गरे । तर कसैले बढुवा भएको २० महिनासम्म पनि जिल्ला नपाएकाले ५ महिनामै इन्चार्ज बनाउँदा गलत सन्देश जाने अडान आइजीपी ठाकुर ज्ञवालीले राखेपछि मल्लको आकांक्षा पूरा हुन पाएन ।
मल्लको जागिर अवधि मुस्किलले २ बर्ष पनि नभएकाले उनी यो अवधिमा जसरी हुन्छ राम्रो जिल्लामा जाने ध्याउन्नमा चितवनबाट सरुवा भएको ५ महिनामै पुनः कास्कीमा सरुवा हुने कोसिसमा लागेको गृह स्रोत बताउछ । त्यसो त उनी चितवनमा हुँदा पनि मोटरसाइकल चोरीमा संलग्न दीपेन्द्र श्रेष्ठ दिपु, गाडी चोरीको कारोबार गर्ने फणिन्द्र भण्डारीको सेटिङमा चल्ने गरेको आरोप लागेको थियो । उनले दरबारमार्ग बृत्त हुँदादेखिका बीचौलिया विजय बिकलाई चितवन पनि लिएर गएका थिए ।
त्यस्तै, कास्की सरुवा हुनका लागि एसपी आभूषण तिम्सिना पनि लागेका थिए । उनले विवादास्पद म्यानपावर संचालक रघु पुरी र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँगश धेरै पटक भीआइपी रेष्टुरेन्टमा बसेर शक्ति परिचालनको कोसिस गरे पनि उनी पनि पर्न सकेनन् । पुरी र पुनले एसपी सरुवा निस्कनु २ दिनअघिसमेत नक्सालको एक रेष्टुरेन्टमा बसी निश्चित रुपमा कस्कीमा हुने भयो भनेर आश्वासन दिए पनि उनी पर्न सकेनन् । कैलाली र स्याङ्जामा असफल भएर अवधि नपुगी तानिएका उनलाई चल्तापुर्जा मानिएका म्यान पावर व्यवसायी पुरीले यो पटक कास्की लगेरै छाड्ने आश्वासन दिएका थिए ।
त्यसैगरी गण्डकी प्रदेश ट्राफिकका एसपी विनोद घिमिरेले पनि जिल्ला ताकेका थिए । बेलबहादुर पाण्डेको नाम बाँकेका लागि लिए पनि उनी पनि हिस्स परेका छन् । उनलाई बाँके लाने पक्षमा ५ नम्बर प्रदेशका डीआइजी रविन्द्रसिंह धानुक लागेका थिए । तर धानुकको चाहनाबिपरीत ओम रानालाई बाँकेमा लगिएको छ । असुलीमा पारंगत मानिने राना जहाँ सरुवा भएपनि पनि विवादमा पर्दै आएका छन् । रसुवामा रक्तचन्दन तस्करी काण्डदेखि नै उनी विवादित परेका प्रहरी कर्मचारी हुन् ।
उनले डीएसपीदेखि एसपी हुँदासम्म प्रायः सधैं आकर्षक बृत्त वा जिल्लाको इन्चार्ज हुने मौका पाएका छन् । प्रकाश रानाभाट त्यस्तै अर्का पात्र हुन् । जो मोरङ वा कास्की जान चाहिरहेका थिए । उनी हेटौंडा ट्राफिकको प्रमुख छन् । पुनः आकर्षक जिल्ला ताकेका थिए । उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हुँदा उनले याक एण्ड यति क्यासिनोको उजुरीमा ठूलो आर्थिक चलखेल गरेका विषयका कारण उनी विवादमा परेका थिए ।
बाँकेको इन्चार्ज भइसकेका एसपी अरुण पौडेल तनहुँको इन्चार्ज बन्ने मौका पाएका छन् । तनहुँमा क्रसर उद्योगबाट हुने गरेको वातावरणीय क्षतिका सम्बन्धमा अब एसपी पोडेलले एक्सन लिन्छन् कि क्रसरका डनहरूसंग मिलेमतोमा काम गर्छन् रु त्यो प्रश्न पनि उठेको छ । बाँकेबाट बागमती प्रदेशमा सरुवा भएको एक बर्षमै उनी पुनः तनहुँमा सरुवा हुने अवसर पाएका छन् । बागमती प्रदेशमा हुँदा बलात्कारकाण्डमा घुस खाएर मिलापत्र गराउने सईलाई कारबाही गरी मुख्य दोषी डीएसपी एकनारायण कोइरालालाई जोगाएको आरोप पनि उनीमाथि लागेको थियो । गतबर्ष चितवनमा एक बलात्कारको काण्ड डीएसपी कोइरालाकै अग्रसरतामा मिलाइएको जन गुनासो रहेको थियो । साँघुन्यूजबाट
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।