काठमाडौं– नेकपाको स्थायी समिति बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो। बैठकमा सात बुँदै एजेन्डा तय भए र दुई अध्यक्षहरु अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे।
तर, ओली र प्रचण्डका भनाइ परस्पर विरोधी जस्ता देखिए। यति मात्रै होइन, बरिष्ठ नेता माधवकुमार नेपालले त ओली बोल्दा बोल्दै हस्तक्षेप समेत गर्न पुगे।
स्थायी कमिटी बैठकको पहिलो दिनमा व्यक्त भएका विपरीत धारणाले सत्तारुढ दल नेकपा गम्भीर संकटमा रहेको संकेत गरेको पार्टीकै नेताहरुले बताएका छन्।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्दागर्दै पनि आलोचना भएको र पार्टीभित्रकै प्रतिपक्षीहरुले समस्यामा पारेको बताएका थिए।
उनले नेपालको नयाँ नक्सा जारी गर्नेदेखि कोरोना नियन्त्रणमा समेत सरकारको भूमिका प्रभावकारी रहेको दाबी गरेका थिए। उनले त्यसो हुँदाहुँदै पनि नेकपा भित्रबाटै असहयोग भएको गुनासो गरेका थिए।
बैठकमा अध्यक्ष ओलीपछि बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सक्ने जति पनि काम नगरेको बताएका थिए। उनले दुई अध्यक्षले सरकारको नेतृत्व आलोपालो गर्ने भनी गरेको सहमति छाडेर गल्ती गरेको महशुस् हुन थालेको समेत बताएका थिए।
दुवै अध्यक्षहरुको धारणा निकै फरक आएको र त्यसले पार्टीभित्र गम्भीर संकट रहेको देखाउने नेताहरुले बताएका छन्। दुवै अध्यक्षको साझा धारणा आउन नसक्नुले पार्टी गम्भिर समस्या रहेको देखिएको उनीहरुको विश्लेषण छ।
तत्कालिन एमाले र माओवादी पार्टी एकीकरण गर्दा दुई जना अध्यक्ष रहने र दुवैले सरकारको नेतृत्व पनि आलोपालो गर्ने गोप्य सहमति भएको थियो।
तर गत मंसिरमा ओलीले पाँच वर्षे कार्यकाल नै सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो। तर सोअनुसार प्रधानमन्त्री ओलीबाट सहमति कार्यान्वयन नभएको प्रचण्डले गुनासो गर्दै आएका छन्।
एक नेताका अनुसार बैठकमा प्रचण्डले अहिलेकै अवस्थामा रहे पार्टी गम्भीर संकटमा पुग्ने चिन्ता व्यक्त गरेका थिए। २०७४ मंसिरमा भएको आम निर्वाचनका समयमा गठबन्धन गरेका तत्कालीन नेकपा एमाले र माओवादीले २०७५ जेठमा पार्टी एकीकरण गरेका हुन्।
सो निर्वाचनमा दुवै दलले करिब दुई–तिहाइ मत ल्याएका थिए भने सातमध्ये ६ प्रदेशमा सरकार गठन गर्न सफल भएका छन्। तर पछिल्लो समयमा भने दुई नेताबीच मनमुटाव बढेको छ। केही समय अघि ओली र प्रचण्ड दुवैले एकअर्का विरुद्ध हस्ताक्षर अभियान नै संचालन गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।