आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जनता कोरोनाले छटपटाएका बेला यी हुन् शितल निवासमा भोज खानेहरु......

जनता कोरोनाले छटपटाएका बेला यी हुन् शितल निवासमा भोज खानेहरु......

  • मिडिया डबली
  • बिहिवार, आषाढ ११ २०७७

  • 15.0K
    SHARES

  • जनता कोरोनाले छटपटाएका बेला यी हुन् शितल निवासमा भोज खानेहरु......

    काठमाडौं– बुधबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएकाे रात्रिभोजको निम्ति उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रीय सभा अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, झलनाथ खनाल, खिलराज रेग्मी, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, बाबुराम भट्टराईसहित सयभन्दा बढी उपस्थित भएका हुन्।

    कोरोना संक्रमणका कारण सरकारी उर्दी नै छ, विवाहभोजमा १५ भन्दा बढी मानिस भेला हुन नपाइने । साँझ ५ बजेदेखि ८ बजेसम्मको रात्रिभोजको लागि सत्तारुढ नेकपाको स्थायी कमिटीका सबै,स्थायी कमिटीमा नरहेका, तर नेतृत्वको निर्णायक भूमिका हुने नेता र मन्त्रीलाई पनि निम्तो गरिएको छ । दलीय भेलाको छनक नहोस् भन्नका लागि रामचन्द्र पौडेल, मीनेन्द्र रिजाल, ज्ञानेन्द्र कार्कीसहित अन्य दलका केही नेतालाई पनि बोलाइएको स्रोतले जनाएको छ ।

    साँझको कार्यक्रमका लागि भाटभटेनीस्थित आम्रपाली क्याटरिङलाई सयभन्दा बढी निम्तालुका निम्ति सफ्ट ड्रिंक, सामान्य स्न्याक्स, मांसहारी तथा सादा खाना र खानापछि मिठाई, गाजरको हलुवालगायतका डेजर्टको अर्डर गरिएकाे थियाे ।

    गत वर्ष पनि नेकपाको स्थायी कमिटी बैठक शुरु भएकै दिन शीतल निवासमा यस्तो भोजको आयोजना गरिएको थियो । पार्टी बैठकमा उत्पन्न विवाद प्रधानमन्त्रीको पक्षमा अनुकूल बनाउन गत वर्ष रात्रिभोजको आयोजना गरिएको थियो ।

    ‘राष्ट्रपतिले भोज दिन पाउने, नयाँ आर्थिक बर्ष शुरु हुनुअघि हामीले किन नपाउने भनेर बुर्कुसी खेल्नेहरुलाई अब झेल्न गाह्रो हुन्छ’, जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृतले भने, ‘राष्ट्रपतिले भोज गर्न हामीलाई सोध्नु पर्दैन भन्ने कुरा सर्वसाधारणले बुझ्दैनन्, त्यसैले उनीहरु कराउन आउनेचाहिँ हामीसँगै हो ।’

    स्मरणीय छ, असार महिनाभरि विवाह, ब्रतबन्धको अत्यधिक लगन छ । पार्टी प्यालेसहरुले वर्षका दुई मुख्य सिजनबाट गर्ने आम्दानीले वर्षैभरि आफ्नो व्यवसाय धान्नुपर्छ । त्यसमध्ये वैशाखदेखि असारसम्मका भोज तथा मंसिरदेखि माघका भोज हुन् ।

    पहिलो सिजन उनीहरुका लागि शून्य आम्दानीमा बित्ने भएको छ । सरकारले विवाह, ब्रतबन्ध तथा पूण्यकार्यमा बढीमा १५ जना भन्दा मानिस भेला हुन नपाइने, यदि भेला भएमा आयोजक वा व्यवस्थापक (पार्टी प्यालेस) लाई जरिवाना गराउनेदेखि हिरासतमा राख्नेसम्मका प्रावधान तय गरेको छ ।


    बुधबारको रात्रिभोजको ठीक ४ दिनपछि शीतल निवासमा फेरि अर्को जमघट हुँदैछ,मदन जयन्तीको अवसरमा । एमालेका तत्कालिन महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ का प्रतिपादक मदनकुमार भण्डारी अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीका पति हुनुहुन्छ ।

    असार १४ गते मदनको ६९ औं जन्मजयन्तीका अवसरमा शीतल निवासमा अयोजना हुने एक कार्यक्रमका बीच एउटा डकुमेन्ट्री प्रदर्शन गरिने भएको छ ।

    मदन फाउण्डेशन आयोजक रहेको उक्त कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रपति हुनेछिन् भने विशेष अतिथिमा प्रधानमन्त्री रहनेछन्। कार्यक्रममा पूर्वराष्ट्रपति डा.रामवरण यादवसहितलाई विशिष्ट अतिथिका रुपमा निम्तो गरिएको छ । त्यसदिन प्रदर्शन हुने डकुमेन्ट्री निर्माणमा नेपाल टेलिभिजनका प्रमुख क्यामेरापर्सन बसन्त रुपाखेतीहरुको टीम सक्रिय छ ।

    यो कामको खर्च फाउण्डेशनले व्यहोर्ने हो । विहान पार्टीका नेताहरुले सामुहिक रुपमा हेरेपछि यो डकुमेण्ट्री १४ गते साँझ नै नेपाल टेलिभिजनबाट प्रशारण गरिने छ ।

    जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीमा यसपालि फरक फरक कार्यक्रम देखिने छ । पहिला बागमति प्रदेशसभाका सांसद तथा प्रमुख सचेतक दीपक निरौलाहरुले मदन भण्डारी फाउण्डेशन,काठमाडौं जिल्ला कमिटीका नाममा राष्ट्रपतिलाई नै प्रमुख अतिथि बनाएर शीतल निवासमा कार्यक्रम गर्ने भनिएको थियो ।

    तर,त्यहाँ त्यही दिन,त्यही नाममा अर्को कार्यक्रम तय भएपछि जिल्लाको कार्यक्रम अन्यत्र आयोजना गरिने भएको हो । ‘हामीलाई पहिला कोरोनाका कारणले शीतल निवासमा कार्यक्रम गर्न नपाइने भनियो’, फाउण्डेशनका एक जिल्ला पदाधिकारीले भने, ‘तर, त्यही दिन,त्यहीँभित्र हाम्रोभन्दा भव्य कार्यक्रम हुन लागेको रहेछ ।’

    जिल्ला कमिटीले दुई महिनादेखि मदनका नाममा डकुमेण्ट्री र स्मारिका प्रकाशनको तयारी थालेको थियो । अन्तिममा आएर केन्द्रले अर्कै तयारी गरेपछि जिल्लालाई कहाँ, कसरी कार्यक्रम गर्ने भन्ने अन्यौलता भएको छ । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ११ २०७७०९:०८:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend