आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज खण्डग्रास सूर्यग्रहण लाग्दै, कुन राशिलाई शुभ, कुनलाई अशुभ ?

आज खण्डग्रास सूर्यग्रहण लाग्दै, कुन राशिलाई शुभ, कुनलाई अशुभ ?

  • मिडिया डबली
  • आइतवार, आषाढ ७ २०७७

  • 8.5K
    SHARES

  • आज खण्डग्रास सूर्यग्रहण लाग्दै, कुन राशिलाई शुभ, कुनलाई अशुभ ?

    काठमाडौं– आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले बताए ।

    शास्त्रीय मान्यता अनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

    ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

    निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।

    पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।

    अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।

    बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।

    अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

    सूर्य ग्रहणमा चार प्रहर ९१२ घण्टा० र चन्द्रग्रहणमा तीन प्रहर ९नौ घण्टा० अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् समेत रहेका गौतमले जानकारी दिए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वास अनुसार असार ६ गते राति १०ः५० बजेदेखि भोजन गर्नु हुँदैन ।

    आजको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए

    सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ ।

    मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्नुहुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष नेपालबाट सूर्यग्रहण आजको मात्र रहेको समितिले जनाएको छ ।

    वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने पनि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । प्रदेश नं. १ बाट सन् १९६५ नोभेम्बर २३ तारिखका दिन बिहान बलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको थियो । अब बलय सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश नं। १ कै दक्षिणपूर्वी भूभागबाट देखिने उनले सुनाए । आजको सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ ।

    आजको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने वरिष्ठ खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताए ।

    चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ ।

    ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो ।

    ग्रहण सम्बन्धी अन्धविश्वास संसारभरी नै रहेको पाउन सकिन्छ । रोमनहरु ग्रहणका वेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागन सँगको सम्बन्धमा विश्वास गर्दछन् । प्राचीन मिश्रका राजा आफैँ सूर्यवंशी थिए । सूर्यग्रहणका वेलामा उनी शहरको मुख्य मन्दिरमा परिक्रमा गरिरहन्थे भन्ने इतिहास भेटिन्छ ।

    काठमाडौँबाट मध्याह्न १२ः०४ बजे सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिनेछ । यसैकारण ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ । त्यसदिन दुईपटक विहान भएको पो हि कि भन्ने जस्तो महसुस हुने खगोलविद् आचार्यले बताए ।

    कहाँबाट हेर्न सकिन्छ सूर्यग्रहण ?

    सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लवले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युव च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्नेछ ।

    असार छ गते साँझ सात बजे सूर्यग्रहण विषयमा जिज्ञासा हुनेले सोसाइटीका विज्ञसँग प्रश्न राख्ने अध्यक्ष भट्टराईले बताए । सूर्यग्रहणका विषयमा जिज्ञासा हुनेले शनिबार साँझ सोसाइटीको प्रत्यक्ष सामाजिक सञ्जाल पेजमार्फत प्रत्यक्ष प्रसारणका बेला प्रश्न राखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ७ २०७७०९:३९:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend