आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जब न्यायमूर्तीले वकिल माथि चप्पल प्रहार गरिन्....

जब न्यायमूर्तीले वकिल माथि चप्पल प्रहार गरिन्....

  • मिडिया डबली
  • आइतवार, आषाढ ७ २०७७

  • 6.5K
    SHARES

  • जब न्यायमूर्तीले वकिल माथि चप्पल प्रहार गरिन्....

    काठमाडौं–बैतडीको पाटन नगरपालिकाकी न्यायिक समिति संयोजक एवं उपप्रमुख सरस्वती कोलीले कार्यकर्ताविरुद्ध निवेदन लेखेको भन्दै वकिलमाथि चोकमै चप्पल प्रहार गरेकी छन् ।

    स्थानीय सरकारको न्यायिक समितिले दर्ता गर्न नमानेको खानेपानीे विवादको मुद्दा इलाका प्रहरी कार्यालयमा दर्ता गरेपछि निवेदन लेख्ने लडकडाउनमा घर गएका पाटन उच्च अदालत ललितपुर बार एसोसिएनका सदस्य नारायणदत्त पन्तमाथि चोकमै चप्पल प्रहार गरेकी हुन् । वकिल पन्त लकडाउन अघि काठमाडौंबाट गत चैत ६ गते पुर्खौली घर बैतडी पुगेका थिए ।

    न्यायिक समितिको संयोजकबाट सार्वजनिक स्थलमा ‘कुकुर’ भन्दै चप्पल प्रहार भएको वकिल नारायणदत्त पन्तले बताए । ‘वकिल भनेका कुकुर हुन्’ भन्दै उपप्रमुख कोलीले सार्वजनिक स्थलमा चप्पल प्रहार गरेकाले न्याय माग्न अदालत जाने पन्तले जानकारी दिए ।

    उनले भने, ‘लकडाउनअघि चैत ६ गते काठमाडौंबाट घर पुगेको हुँ । गाउँमा खानेपानीको विवाद भयो । निवेदन लेख्न आएकाहरूको निवेदन लेखेको भरमा ममाथि न्यायिक समितिको जिम्मेवार व्यक्तिबाट बजारमा चप्पल प्रहार भयो ।’


    घटनाको विषयमा इलाका प्रहरी कार्यालय बैतडीले न्यायिक समितिको विवाद प्रहरी कार्यालयसम्म आउनै नपर्ने विषय भएको बताउँदै उपप्रमुखले बजारमा चप्पल प्रहार गरेको भन्दै वकिल नारायणदत्त पन्तले बजार क्षेत्रको सिसी टिभीको फुटेज सुरक्षित राख्न प्रहरीमा निवेदन दिएको जानकारी दिएको छ ।

    के हो विवाद ?

    गत जेठ २३ गते पाटन नगरपालिका–३, गुजर गाउँकी राधा विष्टले १५ वर्षदेखि उपभोग गर्दै आएको खानेपानी मुहानको पाइप अचानक काटियो । उनले खानेपानीको पाइप काटेर गालीगलौज गरेको भन्दै सोही गाउँका दानसिंह विष्टलगायत नाममा प्रहरी र न्यायिक समितिमा उजुरी दिइन् । प्रहरीले उजुरी लियो तर न्यायिक समितिले लिएन । विष्टको निवेदन लेखिदिने वकिल नारायणप्रसाद पन्त थिए । न्यायिक समितिकी प्रमुखले ‘मेरो गाउँको खानेपानीको मुद्दा हो, बुझेर मात्रै उजुरी दर्ता गर्छु’ भनेपछि विष्टले नजिकैको पाटन इलाका प्रहरी कार्यालयमा उजुरी दिएको र सो निवेदन आफूले लेखिदिएको वकिल पन्तले बताए ।

    खानेपानीको पाइप काटिएको विषयमा इलाका प्रहरी कार्यालय बैतडी पाटनमा उजुरी परेपछि उपप्रमुख सरस्वती कोली आफ्नो श्रीमान् रमेश कोलीलाई लिएर प्रहरी कार्यालय पुगिन् । निवेदन कसले लेखेको भन्ने कुरा सोधखोज गरिन् । उपप्रमुख कोलीसँगै उनका श्रीमान् कांग्रेस नेता तथा सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीका सचिव रमेश कोलीले आफू सामुदायिक प्रहरी बैतडीको सचिव रहेको भन्दै गाउँमा जान दुई जना प्रहरी मागे ।

    प्रहरीको सहयोग चाहिने भए नगरपालिकाको लिखित पत्र ल्याउन भनेपछि कोली परिवारले श्रीमती न्यायिक समितिको संयोजक र श्रीमान् सामुदायिक प्रहरी सेवा केन्द्रको सचिव रहेकाले किन पत्र चाहियो भनेपछि इलाका प्रहरी कार्यालय पाटनले दुई जना प्रहरी साथमा जान गाउँ पठायो ।

    खानेपानीको विवाद किन प्रहरी चौकीसम्म पुग्यो भन्दै जेठ ३१ गते उपप्रमुख सरस्वती कोली आफ्ना श्रीमान् रमेश कोली र दुई जना प्रहरी लिएर पाटन नगरपालिका–३, गुजर गाउँको गुराली टोल पुगिन् ।

    न्यायिक समितिको संयोजक सरस्वती कोलीले आफ्नो श्रीमान्् रमेश कोली सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीको सचिव तथा कांग्रेसको नेता भएको भाषण गरिन् । साथमा रहेका प्रहरी र गाउँले उक्त भाषण सुनिरहे । सत्ता, शक्ति र पदको दुरूपयोग गरेर उपप्रमुख कोलीले प्रहरी कार्यालयलाई मौखिक रूपमै प्रहरी चाहियो भनेर गाउँमा प्रहरी लिएर आएको अधिवक्ता पन्तको आरोप छ ।

    न्यायिक समितिको संयोजक नै प्रहरी लिएर गाउँमा पुगेपछि खानेपानीको विवाद समाधान हुने र काटिएको पाइप जोडिनेमा पीडित राधा विष्ट ढुक्क थिइन् । उपप्रमुखसँगै प्रहरी टोलीको साथमा गाउँ पसेकी उपप्रमुखका श्रीमान् रमेश कोलीले आफू कांग्रेसको नेता तथा सामुदायिक प्रहरी बैतडीको सचिव भएको भाषण गरे ।

    गाउँ टोलका मान्छेले हामीलाई भोट दिएको होइन, खानेपानीको विवाद थप चुलिएको पाटन नगरपालिका–३ का वडासदस्य भीम भट्टको भनाइ छ ।


    खानेपानीको पाइप काटेको तथा गालीगलौज गरेको मुद्दामा निवेदन लेखेको भन्दै वकिलमाथि चप्पल प्रहार गर्ने उपप्रमुख सरस्वती कोलीको परिवारको छवि विवादित रहेको पाटनका स्थानीयले बताए ।


    सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीको सचिव रहेका उपप्रमुख कोलीका श्रीमान् रमेश कोली ०६६ सालमा हलिया महिलामाथि बलात्कार गरेको आरोपमा बैतडी प्रहरीको थुनामा परेका थिए ।

    हलिया अभियन्ता रहेका बेला कोलीले २०६६ सालमा हलिया मुक्ति गरिदिन्छु भन्दै महिलामाथि बलात्कार गरेपछि पीडित महिला र परिवारले बैतडी प्रहरीमा उजुरी दिएका थिए ।

    बैतडीको सिगास गाउँपालिका–२, गाजरी, खुदाई नगरकी ती महिलाका श्रीमान्लाई क्षतिपूर्ति दिने भन्दै मिलेमतो गरेर उन्मुक्ति पाएलगत्तै कोलीलाई प्रहीले सामुदायिक प्रहरी सेवा केन्द्रको सदस्य बनाएको थियो ।

    उपप्रमुख सरस्वती कोलीले वकिलमाथि चप्पल प्रहार गर्दा रमेश कोली सँगै देखिएका छन् । ‘अनुमतिबिना भिडियो खिच्न पाइँदैन’ भन्दै धम्क्याइरहेको भिडियोमा सुनिन्छ ।


    अधिवक्तामाथि चप्पल प्रहार गर्ने उपप्रमुख कोलीका श्रीमान् रमेश कोली ०७३ सालमा जिल्ला अस्पताल बैतडीका डाक्टरलाई मोसो दलेर फरार भएका थिए । सार्वजनिक अपराध ऐनअन्तर्गत प्रहरी म्यादभित्र खोजी गर्दा पनि कोली फेला परेका थिएनन् ।

    स्थानीय तहको चुनावअघि रमेश कोली कांग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेको घोषणा गरेर चर्चामा आएका थिए । सुदूरपश्चिम स्वास्थ्य निर्देशक रहेका गुणराज अवस्थीलाई बैतडी अस्पताल प्रमुख हुँदा कोलीले मोसो दलेका थिए । सो मुद्दामा प्रहरीले पक्राउ गर्न खोज्दा उनी फरार थिए ।

    ०६२–६३ को आन्दोलनपछि बैतडीका मन्दिरमा बलि चढाएका राँगा दलित समुदायले मत्रै खानुपर्ने र त्यसको सरसफाइ गर्नुपर्ने बाध्यकारी नियमविरुद्ध बैतडीका दलित समुदायले बलि दिएका राँगा नखाने घोषणा गरेका थिए ।

    सिंगो दलित समुदायले बहिष्कार गरेका राँगा कोली परिवारले मन्दिरमा चढाएका राँगा सिनो होइन, प्रसाद हो भन्दै रातिराति लुकेर खाएपछि दलित आन्दोलन तुहिएको थियो । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ७ २०७७०८:५१:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend